काठमाण्डौ । कोरोनाभाइरस महामारी अतिप्रभावित अमेरिकाले अस्थायी रुपमा मुलुकमा आफ्नो आप्रवासीलाई रोक्ने तयारी गरेको छ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका हुन्। कोरोनाभाइरसका कारण अहिले अमेरिकाले ठूलो मानवीय क्षतिसँगै आर्थिक संकटको सामना गरिरहेको छ।

राष्ट्रपति ट्रम्पले सोमबार ट्विट गर्दै कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका लागि यस्तो निर्णय लिइएको उल्लेख गरेका छन्। उनले आप्रवासी रोक्न अमेरिकाले कति समयका लागि कस्तो कदम चाल्दैछ भन्नेबारे भने केही खुलाएका छैनन्।  यो आंशिक प्रतिबन्ध कस्ता–कस्ता आप्रवासी प्रभावित हुन्छन् भन्नेबारे पनि ट्रम्पले खुलाएका छैनन्। 

यसअघि कोरोना रोकथामका लागि अमेरिकाले युरोपेली मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ। अमेरिका–क्यानडाबीच सोमबार मेको मध्यसम्मै आपसको सीमानाका बन्द गर्ने सहमति पनि गरिसकेका छन्। 

जोन हप्किङ्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाबाट ४२ हजार ९४ जनाको ज्यान गइसकेको छ भने ७ लाख ८४ हजार संक्रमित भइसकेका छन्। मृत्यु र संक्रमितको संख्या अमेरिकामा अन्य देशको तुलनामा निकै बढी हो।

उता विश्वभर यो भाइरसको संक्रमणबाट १ लाख ६९ हजारभन्दा बढीको ज्या गइसकेको छ भने संक्रमितको संख्या २४ लाख ७२ हजारभन्दा बढी पुगिसकेको छ।