काठमाण्डौ । सुरक्षा खतरा रहेको जनाउँदै अमेरिकाको फेडेरल कम्युनिकेसन कमिसन (एफसीसी) ले चीनका दुई कम्पनी हुवावे र जेडटीई कर्पसँगको सबै प्रकारको कारोबारमा औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ।

एफसीसीको यो कडा कदमपश्चात अमेरिकी कम्पनीहरुलाई यी चिनियाँ कम्पनीबाट उपकरणहरु हासिल गर्न सम्भव हुने छैन। अमेरिकी कम्पनीहरु ग्रामीण क्षेत्रको सञ्चार नेटवर्क सुधार्नका लागि सरकारबाट प्राप्त ८.३ अर्ब डलरबाट चिनियाँ कम्पनीहरुको उपकरण खरिद गर्ने योजनामा थिए। तर अमेरिकाको दूरसञ्चार नियामकले गत नोभेम्बरमा ५–० बहुमतका साथ ग्रामीण क्षेत्रका पुराना उपकरणहरु बदल्न चिनियाँ कम्पनीलाई अनुमति दिन नसकिने स्पष्ट पारेको थियो। 

एफसीसीका अध्यक्ष अजित पईले चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकाको कमजोर नेटवर्क प्रणालीको फाइदा उठाउने अनुमति नदिइने बताएका थिए। हुवावे र जेडटीईले अमेरिकाको यो कदमका बारेमा अहिलेसम्म आफ्नो औपचारिक धारणा राखेको छैन। तथापि यी दुवै कम्पनीहरु पहिलेदेखि नै अमेरिकी सरकारले चिनियाँ कम्पनीहरुलाई देखाउने रवैयाको विरोध गर्दै आइरहेका छन्। 

एफसीसीका आयुक्त जेफ्री स्टाक्र्सले अमेरिकी नेटवर्कमा अविश्वसनीयता कायम रहेको बताएका छन्। उनले चिनियाँ उपकरणहरुमा भरोसा गर्न नसकिने बताएका छन्। 

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ मा एउटा कार्यकारी आदेशमार्फत यी दुवै चिनियाँ कम्पनीले बनाएका उपकरणहरु देशको सुरक्षाका लागि खतरा रहेको बताउँदै अमेरिकी कम्पनीहरुलाई यी कम्पनीहरुबाट उपकरण खरिद गर्न रोक लगाएका थिए। ट्रम्प प्रशासनले हुवावेलाई गत वर्ष कोलो सूचीमा राखेको थियो। – एजेन्सी