काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक प्रमुख ब्याजदर बढाएको छ। 

अमेरिकी फेडले ब्याजदर ०.५० प्रतिशतले बढाएको हो। मुद्रास्फीतिमा थोरै नियन्त्रण आए पनि फेडले ब्याजदर भने बढाएको छ। यद्यपि अघिल्लोपटक फेड ०.७५ प्रतिशतले ब्याजदर वृद्धि गरेको थियो। 

अमेरिकी फेडले बुधबार राति ब्याजदर बढाएको हो। यससँगै केन्द्रीय बैंकले सन् २०२३ को अन्त्यसम्ममा ब्याजदरमा कम्तीमा ०.७५ प्रतिशतले थप वृद्धि हुने प्रक्षेपण गरेको छ। 

फेडले बेरोजगारी बढेको र आर्थिक वृद्धि लगभग रोकिएका कारणले यस्तो प्रक्षेपण गरेको हो। यसअघि फेडले चारपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको थियो। 

अब बिहीबार बैंक अफ इंग्ल्यान्ड र युरोपेली केन्द्रीय बैंकको बैठक बस्नेछ। बैठकमा हुने निर्णयको प्रतीक्षामा लगानीकर्ताहरु रहेका छन्। 

फेडको यो निर्णयसँगै लक्ष्य दर ४.२५ देखि ४.५० को दायरामा आएको छ। यो सन् २००७ यताकै उच्चस्तर हो। अब सन् २०२३ को अन्त्यका लागि ५.१ प्रतिशत ब्याजदर अनुमान गरिएको छ। यो लगानीकर्ताको अपेक्षाभन्दा बढी हो। 

अधिकांश अधिकारीहरुले सन् २०२४ मा ब्याजदर कटौती गर्ने आशा गरेका छन्। यसका साथै सन् २०२३ को अन्त्यसम्ममा बेरोजगारी दर ४.६ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ। यो सन् २०२४ मा पनि रहनेछ। 

हाल अमेरिकामा बेरोजगारी दर ३.७ प्रतिशत रहेको छ। सन् २०२३ मा जीडीपी वृद्धि ०.५ प्रतिशत हुने अनुमान गरिएको छ। यो सेप्टेम्बरमा गरिएको १.२ प्रतिशतको अनुमानभन्दा कम हो।

फेडरल रिजर्भको निर्णयपछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ। बुधवार राति डाउ जोन्स ०.९८ प्रतिशत, एस एन्ड पी ५०० १.१६ प्रतिशत र नास्डक १.३३ प्रतिशतले घटेको थियो। – एजेन्सी