काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विदेशीलाई वर्किङ भिसा दिन लगाएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म जारी रहने सम्भावना रहेको छ।

ह्वाइटहाउसका वरिष्ठ अधिकारीहरुका अनुसार यो प्रतिबन्धले विदेशीलाई दिइने स्किल्ड वर्करका लागि एच१बी भिसा, कम्पनीभित्रै विदेशी कामदारको ट्रान्सफरका लागि दिइने एल१ भिसा, एकेडेमिक र रिसर्चहरुका लागि जे भिसा र सिजनल वर्करका लागि एच२बी भिसामा असर पर्नेछ। यद्यपि यो प्रतिबन्धमा भने फुड प्रोसेसिङ इन्डस्ट्रीमा काम गर्नेहरुका लागि भने छुट मिल्न सक्ने उनीहरुको संकेत छ। 

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले यो प्रतिबन्धका कारण अमेरिकी जनतालाई कोरोना महामारीपछिको अवस्थामा छिटै काम पाउने सम्भावना बढी हुन्छ। ‘राष्ट्रपति ट्रम्प अमेरिकी जनतालाई जतिसक्दो चाँडो काममा फर्काउन चाहन्छन्’, ती अधिकारीले भने।

अमेरिकी राष्ट्रपतिको कार्यालयको अनुमान छ कि विदेशी दिइने भिसामा लगाइएको प्रतिबन्धका कारण ५ लाख २५ हजार अमेरिकी जनतालाई जागिरको अवसर सिर्जना हुनेछ। यसले कोरोना संकटका कारण गहिरो बेरोजगारीको अवस्थालाई राहात दिने विश्वास लिइएको छ। 

कोरोना संकटबीच राष्ट्रपति ट्रम्पले विदेशी नागरिकको स्थायी बसोबास सुविधामाथि पनि तत्काल प्रतिबन्ध लगाउन घोषणा गर्न सक्ने बताइएको छ। उनी यो संकटको अवस्थामा विदेशीलाई देश भित्र्याउन कम गरेर अमेरिकी जनतालाई प्रोत्साहन गर्ने नीतिबारे सोचिरहेको अधिकारीहरु बताउँछन्। 

यता जो कम्पनी विदेशी कामदारमा निर्भर रहेका छन् उनीहरुले भने यस किसिमको प्रतिबन्ध र निर्णयको विरोध गर्न सक्ने बताइएको छ।– एजेन्सी