काठमाण्डौ । अमेरिका र चीनबीच लामो समयदेखि प्रतिक्षा गरिएको व्यापार सम्झौता अमेरिकाको वासिङ्टनमा हुनेभएको छ ।

अमेरिका–चीनबीच हुने भनिएको ‘पहिलो चरण’को व्यापार वार्तामा अर्को महिनाको मध्यतिर वासिङ्टनमा हस्ताक्षर गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको हो ।

“हाम्रो चीनसँग हुने पहिलो चरणको बृहत् व्यापार सम्झौतामा मैले जनअरी १५ मा हस्ताक्षर गर्नेछु, राष्ट्रपति ट्रम्पले ट्विटर सन्देशमा लेख्नुभएको छ । “चिनियाँ उच्च प्रतिनिधिमण्डलको उपस्थिति रहने सम्झौताको कार्यक्रम ह्वाइट हाउसमा हुनेछ ।” 

त्यसपछि वार्तालाई निरन्तरता दिन ट्रम्प बेइजिङ जाने कार्यक्रम रहेको पनि बताइएको छ ।

अमेरिका र चीनबीच गत बर्षदेखि व्यापार विवादका कारण दुबै देशले एक अर्कामाथि कर वृद्धि गरी व्यापारमा संरक्षणवादी नीति लिएका थिए ।

यसबीचमा दुई देशका व्यापार वार्ता गर्न बनेको प्रतिनिधिमण्डलबीच धेरै चरणमा अमेरिका र चीनमा वार्ता भएका थिए । यस विवादबारे अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच पनि पटकपटक औपचारिक तथा अनौपचारिक कुराकानी भएको थियो । - रासस/एएफपी