काठमाण्डौ । अमेरिकी हवाई कम्पनी साउथवेस्ट एयरलाइन्सले बितेको ४८ वर्षको अवधिमा पहिलोपटक घाटा व्यहोरेको छ। 

यसअघि कम्पनीले सन् १९७२ मा वार्षिक घाटा व्यहोरेको थियो। त्यतिबेला कम्पनी सुरुआती चरणमा थियो र टेक्सास रुटमा मात्रै उडान भर्ने गर्दथ्यो। 

त्यसपश्चात कम्पनी अमेरिकाको चौथो ठूलो हवाई कम्पनीका रुपमा उभिन सफल भएको छ। सन् १९७२ पछि कम्पनी लगातार ४७ वर्षसम्म नाफामा गएको थियो। यस अवधिमा साउथवेस्ट एयरलाइन्सका अन्य प्रतिस्पर्धी कम्पनीहरु हवाई उद्योगको कठिन अवस्थाका कारण टाट पल्टन पुगे तर यो कम्पनीले निरन्तर नाफा कमाइरह्यो। 

अहिले आएर कम्पनीको मुनाफामा ब्रेक लागेको छ। कम्पनीले हालै प्रकाशित गरेको सन् २०२० को वार्षिक प्रतिवेदनमा कम्पनीले घाटा व्यहोरेको जनाएको छ। कोरोना महामारीका कारण जहाजहरु ग्राउन्डेट गर्नुपरेकाले कम्पनीले ३.५ बिलियन डलरबराबरको घाटा व्यहोर्नुपरेको कम्पनीद्वारा प्रकाशित रिपार्टमा उल्लेख छ। रिपार्टका अनुसार सन् २०२० मा कम्पनीको आम्दानी १३.४ बिलियन डलर अर्थात ६० प्रतिशतले घटेको छ। 

‘हाम्रो कम्पनी पनि कोरोनाविरुद्ध प्रतिरोधक छैन। हो कहिलेकाहीँ खराब समयहरु आउँछन्। हामीले सेवा प्रवाह गरेको सुरुआती वर्षपछि पहिलोपटक घाटा व्यहोरेका छौँ। यो अवस्थालाई हामीले पार गर्नेछौँ भन्ने हामीसँग आशावादी हुने कारणहरु पनि छन्’, कम्पनीका सीईओ ग्यारी केलीले भने। 

उसो त सन् २०२० मा घाटा व्यहोर्ने साउथवेस्ट एक्लो कम्पनी भने होइन। कोरोना महामारीको प्रभावका कारण यो वर्ष साउथवेस्टजस्तै विश्वका अन्य हवाई कम्पनीहरुले पनि घाटा व्यहोरेका छन्। 

विश्वको सबैभन्दा ठूलो हवाई कम्पनी अमेरिकी एयरलाइन्सले सन् २०२० मा ९.६ बिलियन डलरको घाटा व्यहोरेको थियो। यस्तै जेट ब्लुले पनि १.६ बिलियन डलरको घाटा व्यहोरेको थियो। 

युनाइटेड एयरलाइन्स र डेल्टा एयरलाइन्सले पनि घाटा व्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको थिए। अमेरिकाका ६ ठूला हवाई कम्पनी अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड साउथवेस्ट, जेट ब्लु र अलास्का एयरले समग्रमा ३०.४ बिलियन डलर घाटा व्यहोरेका छन्। – एजेन्सी