काठमाण्डौ । यही साता हुने बैठकमा अमेरिकी फेडरल रिजर्भले महँगी नियन्त्रण गर्न कत्तिको आक्रामक कदम चाल्नेछ भनेर अहिले विश्व सेयर बजारका लगानीकर्ताहरु निकै चिन्तित छन्।

अमेरिकी ब्याजदरको प्रभाव

कारोबार जगतमा एउटा भनाइ छ कि अमेरिकाले हाछ्युँ गर्दा विश्वभर त्यसको प्रभाव पर्छ। यो भनाइ सन् २०२२ मा पनि सत्य सावित हुने देखिएको छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने देखिएको छ। अमेरिकामा ब्याजदर बढ्दा त्यसको असर विश्वभरका सेयर बजारमा देख्न सकिन्छ। फेडरल रिजर्भको यो निर्णयका कारण भारतलगायत एसिया र युरोपका देशमा हलचल मच्चिन सक्छ। 

फेड रिजर्भसँगको कनेक्सन

अमेरिकामा ब्याजदर कम हुँदा लगानीकर्ताले राम्रो आम्दानीका लागि भारतजस्तो बजारमा लगानी गर्दा यसले सेयर बजारलाई मद्दत गर्छ। यदि अमेरिकामा ब्याजदर बढ्यो भने लगानीकर्ताले उदीयमान देशहरुबाट पैसा निकाल्छन् र अमेरिकाका बैंकहरुमा पैसा जम्मा गर्छन् भने आफ्नै देशमा उनीहरुको पुँजीबाट राम्रो प्रतिफल कमाउँछन्। जसका कारण उदीयमान देशको सेयर बजार घट्ने गर्छ। यस्तो अवस्थामा लगानीकर्ताहरु फेडरल रिजर्भको बैठकको पर्खाइमा छन्।

सेयर लगानीकर्तामा चिन्ता

यही साताको बैठकमा अमेरिकी फेडरल रिजर्भले महँगीलाई नियन्त्रण गर्न कत्तिको आक्रामक उपायहरु अवलम्बन गर्छ भनेर विश्वभरका उदीयमान देशहरुका लगानीकर्ताहरु चिन्तित छन्। फेडरल रिजर्भको ब्याजदर नीति स्पष्ट हुनुअगावै कतिपय लगानीकर्ताहरुले विश्व सेयर बजारबाट पैसा निकालिरहेका छन्। जसका कारण केही दिनयता भारतीयसँगै विश्व सेयर बजारमा गिरावट आइरहेको छ। 

ब्याजदरमा दबाब

अमेरिकाको ब्याजदरमा हुने वृद्धिको असर भारतलगायत एसिया र युरोपका देशमा पनि पर्न सक्छ। अमेरिकामा ब्याजदर बढेमा भारतमा ब्याजदर बढाउन रिजर्भ बैंकमाथि दबाब पर्न सक्ने र डलर बलियो हुँदा सुन, तेललगायतको भाउ पनि बढ्न सक्ने अर्थशास्त्रीहरुको भनाइ छ। सन् २०२० मा कोभिड–१९ ले विश्वलाई आक्रान्त पार्दा यूएस फेडरल रिजर्भ विश्वव्यापी मन्दी रोक्न अग्रपंक्तिमा देखिएको थियो।

पैसाको उपलब्धता कम हुने

अमेरिकी फेडले ब्याजदर बढाएमा भारतीय कम्पनीहरुका विदेशी कोषको उपलब्धता र लागतमा असर पर्नेछ। यसले भारतीय इक्विटी र बन्ड बजारमा विदेशी पोर्टफोलियोमा अप्रत्यक्ष प्रभाव पार्नेछ। वैश्विक लगानीकर्ताहरुले विश्वभरका सम्पत्तिहरुमा लगानी गर्न शून्य वा कम ब्याजदर भएका मुद्राहरुमा ऋण लिन्छन्। जसलाई क्यारी ट्रेड भनिन्छ। भारत र अन्य ठाउँका सेयर बजारमा आउने उछालमा यसले विशेष भूमिका निर्वाह गरेको हुन्छ। जब ब्याजदर बढ्दै जान्छ यसको उल्टो असर पर्छ र विश्व सेयर बजार घट्न थाल्छ। 

आरबीआईमा पनि प्रभाव

फेड रिजर्भले ब्याजदर बढाएमा यसको असर आरबीआईमा पनि पर्नेछ। यदि अमेरिकामा ब्याजदर बढ्यो भने अमेरिकी र भारत सरकारको बोन्डहरुबीचको अन्तर कम हुनेछ। जसले गर्दा विश्वव्यापी फन्डहरुले भारतीय सरकारी प्रतिभूतिहरुबाट पैसा निकाल्न थाल्छन्। त्यसैले भारतीय बोन्ड बजारबाट एफपीआईको बिक्री रोक्न आरबीआईले भारतमा ब्याजदर बढाउनुपर्ने हुन्छ। – एजेन्सी