काठमाण्डौ । अमेरिकी फेडरल रिजर्भको एउटा बयानपछि बुधबार अमेरिकी बजारमा उछाल आएको छ। 

महँगी नियन्त्रण गर्न अमेरिकामा ब्याजदरमा लगातार ४ पटक बढोत्तरी गरिएको थियो। फेडका अध्यक्ष जेरोम पावेलले अब डिसेम्बरबाट ब्याजदर घट्न सक्ने संकेत गरेसँगै अमेरिकी बजारमा उछाल आएको हो। योसँगै विश्व बजारमा बहार फर्किएको छ। अमेरिकी बजार धुबार ४ प्रतिशतले बढेर बन्द भएको थियो। 

फेडका अध्यक्ष पावेलले आफ्नो बयानमा डिसेम्बर महिनादेखि ब्याजदर वृद्धि घटाउन सकिने बताएका हुन्। जसका कारण लगानीकर्ताको मनोबल वृद्धि भएको छ। 

बुधबार डाउ ६९१ अंकले बढेको छ भने नास्डक ४८४ अंकले बढेको छ। यतिमात्र होइन निरन्तर गिरावटमा रहेको एसएन्डपीमा पनि उछाल आएको छ। तीन दिनको गिरावटपछि एसएनडपी १२२ अंकले बढेर ४०८० को विन्दुमा बन्द भएको छ। 

अमेरिकी सेयर बजारसँगै एसियाली बजारमा पनि उछाल आएको छ। जापानको निक्केई १.११ प्रतिशतले बढेको छ। 

अर्कोतर्फ हङकङको ह्याङ सेङ इन्डेक्स १.६७ प्रतिशतले बढेको छ भने ह्याङ सेङ टेक इन्डेक्स २.५८ प्रतिशतले बढेको छ भने चीनको सांघाई कम्पोजिट १.०२ प्रतिशत र सेन्जेन १.८६ प्रतिशतले बढेको छ। एसजीएक्स निफ्टी लगभग २६ अंकले बढेको छ। ताइवानको बजार १ दशमलव ६० प्रतिशतले बढेर १५११७.५४ को स्तरमा कारोबार गरिरहेको छ।

अमेरिकी फेडले ब्याजदरमा गरेको बृद्धिको असर विश्वभरका सेयर बजारमा देखिएको थियो। यस वर्ष अमेरिकी फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न एकपछि अर्को गर्दै ब्याजदर बढाएको थियो। यो वर्ष सुरुदेखि नोभेम्बरसम्म बेन्चमार्क दरहरु ०.७५ प्रतिशतको दरले लगातार ४ पटक बढेको छ। –एजेन्सी