काठमाण्डौ । अमेरिकी एच–१बी भिसाधारकहरुका लागि क्यानडाले ठूलो कदम उठाएको छ। 

अब १० हजार अमेरिकी एच–१बी भिसाधारकहरुले क्यानडामा काम गर्ने अनुमति दिइनेछ। यसका लागि ओपन वर्क परमिट स्ट्रिम तयार गर्ने प्रक्रिया क्यानडाले अगाडि बढाएको हो। 

क्यानडाका अध्यागमनमन्त्री सिन फ्रेजरले गत जुन २७ मा यसको घोषणा गरेका थिए। एक अधिकारिक विज्ञप्तिअनुसार क्यानडाले अद्यागमन, शरणार्थी र नागरिकता मन्त्रालयले ओपन वर्क परमिट स्ट्रिमअन्तर्गत अमेरिकाको एच–१बी भिसाधारकको परिवारका सदस्यलाई क्यानडामा वर्क परमिट प्रदान गरिनेछ। 

यो कार्यक्रमअन्तर्ग क्यानडा सरकारले ३ वर्ष अवधिको ओपन वर्क परमिट दिनेछ। अमेरिकाको एच–१ भिसाधारकले आफ्नो योग्यताअनुसार जुनसुकै क्षेत्रमा काम गर्ने अवसर पाउनेछन्। ‘परिवारका सदस्य जस्तै श्रीमान, श्रीमती र आश्रित सदस्यले आफ्नो आवश्यकताअनुसार काम गर्न अध्ययन गर्न अनुमति पाउनुका साथै अस्थायी बसोबास भिसाका लाग आवेदन दिन पनि पाउनेछन’, विज्ञप्तिमा भनिएको छ। 

मन्त्री फ्रेजरले यो वर्षको अन्त्यसम्ममा क्यानडामा आएर आईटी कम्पनीहरुमा काम गर्ने चाहनेहरु विश्वका प्रतिभाशाली मानिसका लागि इमिग्रेसन स्ट्रिम तयारी गर्ने काम भइरहेको बताएका छन्। यद्यपि, यो इमिग्रेसन स्ट्रिमअन्तर्गत कति मानिसलाई भित्र्याउने विषयमा भने उनले स्पष्ट पारेका छैनन्। –एजेन्सी