काठमाण्डौ । अमेरिकामा हवाई यात्रुका लागि नयाँ कठिनाइ खडा हुन सक्छ। उडान ढिला हुने र रद्द हुने जोखिम बढेको छ। 

खराब मौसमका कारण अमेरिकमा गत साता झन्डै ९ हजार उडान रद्द गर्नुपरेको थियो भने हजारौँ उडान निर्धारित समयमै उडान हुन सकेका थिएनन्। तर, अब फाइभजी नेटवर्कका कारण फेरि एकपटक विमानको आवतजावतमा असर पर्ने सम्भावना देखिएको छ। 

वायरलेस प्रदायकहरुले अमेरिकाका प्रमुख विमानस्थलहरुनजिक नयाँ फाइभजी प्रणाली जडान गर्दैछन्। उड्डयन समूहहरुले वर्षौंदेखि चेतावनी दिँदै आएका छन् कि फाइभजी सिग्नलहरुले विमान उपकरणहरुलाई असर गर्न सक्छ। यसले विशेषगरी रेडियो तरंगहरु प्रयोग गर्ने उपकरणहरुलाई असर गर्ने सम्भावना हुन्छ। यी यन्त्रहरुले उडिरहेको विमानको उचाइ देखाउँछन् र कम दृश्यता अवस्थामा विमान अवतरणमा महत्वपूर्ण भूमिका खेल्छन्।

गत वर्ष टेलिकम कम्पनीहरुले फाइभजी नेटवर्क सुरु गर्दा हजारौा उडान प्रभावित भएका थिए। त्यसपछि यी कम्पनीहरु व्यस्त एयरपोर्टहरुनजिक सिग्नलहरुको शक्ति सीमित गर्न सहमत भए। यसले एयरलाइन्स कम्पनीहरुलाई आफ्ना विमान स्तरवृद्धि गर्न एक वर्ष दिएको थियो। 

अमेरिकाको सबैभन्दा ठूलो पाइलट युनियनका नेताले भने, ‘चालक दलहरुले फाइभजीको प्रभावहरु ह्यान्डल गर्न सक्षम छन् तर वायरलेस इजाजतपत्र प्रदान गर्ने तरिकाले उड्डयनमा अनावश्यक जोखिम सिर्जना गरेको छ।’

हालै अमेरिकाका यातायात सचिव पिट बुटिगिएगले उडानहरु सञ्चालन गर्न समस्या हुन सक्ने बताएका थिए। ‘किनकि केही विमानहरु अझै अपग्रेड गरिएका छैनन्’, उनले भनेका थिए।

यद्यपि, अधिकांश अमेरिकी एयरलाइन्सले आफूहरु यसका लागि तयार रहेको बताएका छन्। अमेरिकी, साउथवेस्ट, अलास्का, फ्रन्टियर र युनाइटेडले आफ्ना विमानहरुमा रेडियो अल्टिमिटरहरु जडान गरिएको जनाएका छन्। उनीहरुले फाइभजी सिग्नलहरुले उडान प्रभावित नहुने जनाएका छन्। –एजेन्सी