काठमाण्डौ । अरनिको डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासनको स्वीकृति पाएको ३६ प्रतिशत हकप्रदका लागि असोज २८ गतेलाई बुक क्लोजको मिति तोकेको छ । 

१० बराबर ३.६ को दरले निश्कासनका लागि स्वीकृति पाएको हकप्रदका लागि सेयरधनीहरुले कात्र्तिक ८ गतेदेखि ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने बैंकले बुधबार एक विज्ञप्तिमार्फत जनाएको छ । 

हकप्रदका लागि कात्तिक ८ गतेबाट खुल्ने आवेदन २०७३ मंसिर १२ गतेसम्म कायमै रहने बताइएको छ । 

अरनिको डेभलपमेन्ट बैंकले  पूँजी वृद्धिको योजना अनुसार १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख २८ हजार १ सय ९० कित्ता हकप्रद निश्कासन गर्न लागेको छ । 

दशैंको विदा परेका कारण बुक क्लोज असोज २८ गते तोकिएकोमा त्यसको ठीक एकदिनअघिको कारोबार दिनसम्ममा यो बैंकको सेयर आफ्नो नाममा नामसारी गरेका वा खरीद गरेकाले मात्र हकप्रदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

सिद्धार्थ क्यापिटल लिमीटेडले अरनिको हकप्रद निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको काम गर्नेछ । 

इच्छुक सेयरधनीले काठमाण्डौको अनामनगरस्थित सिद्धार्थ क्यापिटलको मुख्य कार्यालय र अरनिको डेभलपमेन्ट बैंक तथा सिद्धार्थ बैंकका सबै कार्यालयहरुबाट आवेदन दिनसक्नेछन् । 

हकप्रद निश्कासन र व्यवस्थापनपछि यो अरनिको डेभलपमेन्ट बैंकको चुक्तापूँजी हालको २५ करोड ७८ लाखबाट वृद्धि भई ३५ करोड ६ लाख पुग्नेछ । 

यो संस्थाले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्ममा ५ करोड ८४ लाख खूद नाफा आर्जन गरेको थियो ।