काठमाण्डौ । विश्वको तीव्र गतिमा बढ्दै गएको अर्थतन्त्रका रूपमा भारतको उदय भएको छ ।

त्यहाँको अर्थतन्त्रमा विशेषतः साना तथा मझौला उद्यमीहरू अर्थव्यवस्थाको मेरूदण्डका रूपमा देखिएका छन् भने आत्मनिर्भर भारत नारालाई मार्गनिर्देशनका रूपमा अंगीकार गरेको जस्तो देखिएको छ । लाइभ मिन्टका अनुसार अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले भारत सन् २०२७/२८ सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको छ।

आईएमएफसँगै विश्व वित्तीय फर्म मोर्गन स्टेन्लीले पनि सन् २०२७ सम्ममा अमेरिका र चीनपछि भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको छ। हाल जापानको अर्थतन्त्र विश्वमा तेस्रो स्थानमा छ।प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको कार्यकालमा भारतको अर्थतन्त्र विश्वको १० औं ठूलोबाट पाँचौं ठूलो बनेको छ।

कुनै पनि देशको अर्थतन्त्रको आकारको मापदण्ड त्यो देशको कुल गार्हस्थ उत्पादन अर्थात् जीडीपी हो र पछिल्लो नौ वर्षमा भारतको जीडीपीमा ठूलो परिवर्तन आएको छ।

अमेरिकी रेटिङ एजेन्सी फिचले सन् २०२३/२४ मा भारतको बृद्धिदर ६.३ प्रतिशत हुने अनुमान गरेको छ । फिचले मध्यम अवधि २०२३ देखि २०२७ सम्म मानेको छ। भारतको अर्थतन्त्र तीव्र गतिमा बढ्ने प्रक्षेपण छ भने त्यहाँ हालैका महिनाहरूमा रोजगारी दरमा सुधारोन्मुख छ ।

उता चिरपरिचित प्रतिद्वन्द्वी चीनको मध्यकालीन बृद्धि प्रक्षेपण ४.६ प्रतिशतमा झरेको छ ।यतिमात्र नभई फिचले भारतको आर्थिक बृद्धिदर शीर्ष १० उदीयमान अर्थतन्त्रहरूमध्ये उच्च हुने बताएको छ। यसका साथै फिचले भारतको मध्यकालीन बृद्धि अनुमानलाई ०.७ प्रतिशतले बढाएर ६.२ प्रतिशतमा पुर्‍याएको छ। यसअघि बहुपक्षीय कर्जादाताहरुको अनुमान ५.५ प्रतिशत थियो।

फिचका अनुसार भारतमा काम गर्ने उमेरको जनसंख्याको पूर्वानुमानमा पनि सुधार छ। श्रम उत्पादकत्व पनि अन्य देशको तुलनामा राम्रो छ।जसले गर्दा फिचले १० उदीयमान देशहरूको बृद्धि अनुमानलाई पहिलेको ४.३ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा पुर्‍याएको छ। यसका लागि फिचले चीनको अर्थतन्त्रमा आएको गिरावटलाई दोष दिएको छ ।

ग्लोबल रेटिङ एजेन्सीले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यो कमी मुख्यतया चीनको आपूर्ति पक्ष बृद्धि सम्भावनाको अनुमानमा ०.७ प्रतिशत बिन्दुको ठूलो कमीका कारण भएको हो ।’ चीनको मध्यकालीन बृद्धि प्रक्षेपण ५.३ प्रतिशतबाट घटेर ४.६ प्रतिशतमा झरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले भारत र मेक्सिकोलाई ठूलो स्तरमा अपग्रेड गरेका छौं। भारतको बृद्धि अनुमान ५.५ प्रतिशतबाट ६.२ प्रतिशत र मेक्सिकोको बृद्धि अनुमान १.४ प्रतिशतबाट बढाएर २ प्रतिशत पुरयाएका छौं ।’

भारत विश्वको ठूलो आईसीटी हबका रूपमा विकसित हुँदै छ भने सूचना तथा सञ्चार क्षेत्रमा विश्वको सस्तो बजार बनेको छ । अमेरिका र चीनपछि भारत तेस्रो ठूलो स्टार्टअप इकोसिस्टमको मुलुक बनेको छ भने गतवर्षदेखि विश्वको दोस्रो ठूलो मोबाइल फोन निर्माताको रूपमा उभिएको छ ।

नेपालको सन्दर्भमा भारतको ठूलो अर्थतन्त्र, बजारव्यवस्था एवं उपभोक्ताको जनघनत्व चुनौती सँगै अवसर पनि हो । भारतीयहरूको व्यक्तिगत आयमा हुने वृद्धिसँगै नेपालले आफ्नो क्षमता विकास गरी त्यसमार्फत लाभ लिने र नेपालको अर्थव्यवस्था अनुकूल उपयोग गर्न सक्नु पर्दछ । -एजेन्सीको सहयोगमा