काठमाण्डौ । कोरोना भाइरसको कहर विश्वभरकै अर्थतन्त्रमा देखिइरहेको छ । यो भाइरसको संक्रमण फैलिएका देशहरुले आफ्नो अर्थतन्त्रलाई जोगाउन आपतकालीन उपायहरु अनपाउन थालिसकेका छन् । यसमध्ये अर्थतन्त्रलाई प्राण दिनका लागि विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदरमा धमाधम कटौतिको घोषणा गरिरहेका छन् । यही क्रममा अमेरिकाको केन्द्रीय बैंक, फेडेरल रिजर्बले कोरोना भाइरसका कारण अर्थव्यवस्थामा पर्ने असरलाई कम गर्न तथा लगानीकर्ताको भरोसालाई कायम राख्नका लागि आइतबार नीतिगत ब्याजदरमा एक प्रतिशतभन्दा बढीको कटौति गरी यसलाई करिब करिब शून्य प्रतिशत हाराहारीमा झारिदिएको छ । यसबाहेक उसले ७० अर्ब डलरको ऋणपत्र खरीद गरिदिने घोषणा समेत गरेको छ । 

फेडेरल रिजर्बको अल्पकालीन धनका लागि ब्याजदर अब घटेर ० देखि ०.२५ प्रतिशतको न्यून स्तरमा आइपुगेको छ । 

अमेरिकाले बितेका २ हप्तामा नीतिगत ब्याजदरमा कुल मिलाएर डेढ प्रतिशतले कम गर्नेसँगै ऋणका लागि धनको उपलब्धता बढाउनका लागि कैयन उपायहरु गरिसकेको छ । विश्वभरका अन्य केन्द्रीय बैंकहरुले पनि आफ्ना दरहरुमा व्यापक कटौति गरिरहेका छन् । 

कोरोना भाइरसका कारण विश्वभरका १ लाख ५६ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । यो संक्रमणका कारण विश्वभरका करिब ६ हजार व्यक्तिको मृत्यु भइसकेको छ । अमेरिकामा मात्रै यो भाइरसबाट ३ हजार ७०० बढी मानिस संक्रमित भएका छन् । त्यहाँ ६८ नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । 

यो महामारीका कारण विश्वकै आपूर्ति श्रृंखला भयावह बन्धनमा परेको छ भने यसका कारण विश्वकै अर्थतन्त्रमा समेत भयंकर असर परिरहेको छ ।
कोरोनाका कारण थिलथिलो बनेको अर्थव्यवस्थालाई त्राण दिन अमेरिकाले २ साताभित्रै दोश्रो पटक रेट कटौति गरेको हो । दोश्रो पटकको रेट कटौतिपछि अमेरिकाको नीतिगत ब्याजदर सन् २००८ को आर्थिक मन्दीको स्तरमै आइपुगेको छ । 

फेडले कोरोना भाइरसका कारण अर्थव्यवस्थालाई लिएर आएको भरोसामाथिको गिरावट जबसम्म सुधार हुँदैन, तबसम्म रेट कटौति यथावत रहने प्रष्ट्याएको छ ।