काठमाण्डौ । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका मुकेश अम्बानीलाई पैसा माग्दै ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग २० करोड भारतीय रुपया(भारु) मागेका छन्। इमेलमा उक्त पैसा नदिए ज्यान मार्ने उल्लेख छ ।  ती व्यक्तिले पठाएको इमेलमा भनिएको छ, ‘तिमीले हामीलाई २० करोड भारू नदिए हामी तिम्रो ज्यान लिनेछौं। हामीसँग भारतका एकदमै राम्रा सुटर छन् ।’

मुकेश अम्बानीलाई यो धम्की गत अक्टोबर २७ मा शादाब खान नामको व्यक्तिको इमेलबाट आएको बीबीसीले उल्लेख गरेको छ।मुम्बई पुलिसले गामदेवी थानामा आईपीसी धारा ३८७ र ५९६ (२) अन्तर्गत मुद्धा दर्ता गरेको छ ।

हुन त उनलाई ज्यान मार्ने धम्की आएको यो पहिलोपटक होइन। गत वर्ष मुम्बई पुलिसले मुकेश अम्बानी र उनको परिवारलाई पनि धम्की दिने व्यक्तिलाई बिहारबाट पक्राउ गरेको थियो।

ती व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेसन अस्पताललाई बमले उडाउने धम्की दिएका थिए। -एजेन्सी