काठमाण्डौ । अघिल्लो आर्थिक वर्षको तुलनामा आब २०७२/७३ मा खूद नाफातर्फ ४४.६८ प्रतिशतको प्रगति हासिल गरे पनि माछापुछ्रे बैंक अर्ब क्लबमा पुग्नबाट चुकेको छ । 

बैंकले ८९ करोड १८ लाख खूद नाफामा सीमित बन्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष(०७१/७२)मा बैंकको नाफा ६१ करोड ६३ लाखमा सीमित थियो । 

बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । १ अर्ब ३५ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी आब ०७२/७३ मा बढेर १ अर्ब ८५ करोड पुगेको छ ।

बैंकको चुक्तापूँजी ३ अर्ब ८६ करोड रुपैयाँ र सञ्चित कोषमा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । 

बैंकले ५२ अर्ब २९ करोड निक्षेप संकलन गरी ४४ अर्ब २३ करोड कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४४ अर्ब २० करोड निक्षेप संकलन गरी ३४ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकले निस्क्रिय कर्जालाई  पनि घटाएको छ । ०.६४ प्रतिशत रहेको निस्क्रिय कर्जालाई घटाएर ०.५५ प्रतिशतमा झरेको हो । 

बैंकको प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ क्रमशः २३.०८ र १३९.११ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात २९.४७ कायम भएको छ ।