काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तले यही असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। 

मर्जरपछि साना किसान विकास लघुवित्त संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्न सुरु हुनेछ। 

गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। 

गत भदौ ३१ यी दुई संस्थाबीच एकआपसमा गाभिने उद्देश्यले प्रारम्भिक समझदारी भएको थियो । मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडीसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

मर्जरपछि संस्थाको हालको अलग–अलग पुँजीगत आधारको झन्डै दोब्बर पुँजीगत आधार भई एक सबल पुँजी भएको उत्कृष्ट स्तरको लघुवित्त वित्तीय संस्था बन्ने बताइएको छ। मर्जरपछि मुलुकको वर्तमान माग अनुसारको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने एक विशिष्टिकृत वित्तीय संस्थाको रुपमा खडा हुन आधार तयार हुने र नेपाल सरकार तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सहयोगी संघसंस्थाहरुको कृषि तथा ग्रामीण विकास अभियानमा एक सबल, सक्षम र विश्वासिलो साझेदारको रुपमा स्थापित हुने आधारशिला तयार हुने विश्वास संस्थाहरुले गरेका छन्। 

एकीकृत कारोबार प्रयोजनार्थ डाटा माइग्रेसन गर्नका लागि दुवै संस्थाको असार २२ गते अपराह्न ३ बजेदेखि असार २४ गते बिहान ९ बजेसम्म सम्पूर्ण वित्तीय सेवा तथा कारोबार तथा अन्य सेवा बन्द रहने दुवै संस्थाले जनाएका छन्।