Getty Image
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा लिराको अवस्था बेहाल बन्दै गएको छ । सन् २०१८ मा मात्रै डलरको तुलनामा लिराको ७० प्रतिशतले अवमूल्यन भइसकेको छ । डलरसँगको तीव्र अवमूल्यनसँगै टर्कीको मुद्रा लिरा विश्वकै कमजोर मुद्राको सूचिमा दर्ज हुन पुगेको छ । गत हप्ता मात्र लिरामा २० प्रतिशतको गिरावट आएको थियो र अझै पनि यसको गिरावट थामिने कुनै संभावना वा संकेत देखिएको छैन ।
लिरा मात्र होइन, डलरको तुलनामा भारतीय रुपैयाँ समेत लगातार कमजोर बनिरहेको छ । भारतीय मुद्रासँग स्थिर विनिमय दर भएका कारण भारुसँगै नेपाली रुपैयाँ समेत तीव्र अवमूल्यनमा परिरहेको छ । दैनिकजसो डलरसँग भारु र नेपाली मुद्राको अवमूल्यन बढिरहेको छ ।
जानकारकाअनुसार यूरोप र एशियाका कैयन देशका मुद्राहरुमा दवाब परेको मुख्य कारण लिराकै तीव्र गिरावट हो । तर, यस्तो किन भइरहेको छ त ?
यो प्रश्नको उत्तर पाउनका लागि पहिला टर्कीको संकटको बिषयमा बुझ्नुपर्छ र त्यसपछि यसले अन्य देशमा कसरी असर पारिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ ।
बीबीसीका अनुसार केही समयअघिसम्म विश्वका आर्थिक शक्तिहरुमध्ये टर्कीको भारत र चीनकै हाराहारीमा नाम आउथ्यो वा त्यो स्थानमा थियो । अर्थात, टर्की, भारत र चीन नै उदाउँदो अर्थतन्त्र भएका मुलुकहरु थिए । यी ३ देशको ग्रोथ विश्वका अन्य देशको तुलनामा उत्साहप्रद नै थियो ।
सन् २००८ को आर्थिक संकटपछि अमेरिका समेत विश्वका तमाम विकसित देशहरुले ग्रोथ हासिल गर्नका लागि ब्याजदर घटाए, ताकि उद्योगलाई सस्तो कर्जा प्राप्त हुन सकोस् । टर्कीले सोबेला यो माहौलबाट निकै धेरै फाइदा लुट्यो र त्यहाँका कम्पनीहरुले यूरोपका कैयन देशबाट सस्तो कर्जा ल्याए । यसकै जोडबलमा त्यहाँको रियल इस्टेटको कारोबार र म्यानुफ्याक्चरिंग सेक्टरले रफ्तार प्राप्त गर्यो ।
टर्कीका बैंकहरु त्यसबेला विदेशी बैंकहरुबाट डलरमा कर्जा ल्याइरहेका थिए र त्यसलाई घरेलु अर्थव्यवस्थामा प्रयोग गरिरहेका थिए । कर्जादाता बैंक समेत त्यसबेला खुशी नै थिए, किनभने जुन हिसाबले टर्कीका कम्पनीहरुले आफ्नो आम्दानी तथा मुनाफाको ग्राफ देखाइरहेका थिए, त्यसबाट उनीहरु आश्वस्त थिए कि उनीहरुको पैसा सुरक्षित छ र कर्जा डूब्ने आशंका समेत कतै देखिदैन थियो ।
न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार भारत तथा चीनको तुलनामा टर्की विदेशी मुद्राको कर्जामा अधिक निर्भर थियो र यही कारण उसको वर्तमान संकटको मुख्य कारण बनेर आएको छ । टर्कीको अर्थव्यवस्थामा विदेशी मुद्राका निकै ठूलो दबदबा छ र कुल कर्जाको ७० प्रतिशत भन्दा बढी हिस्सा डलरमै भित्र्याइएको कर्जा रहेको छ ।
बैंक अफ इन्टरनेशनल सेटलमेन्ट(बीआईएस)का अनुसार टर्कीको मुद्रामा भारी गिरावटपछि यूरोपीय बैंकहरु निकै ठूलो मुश्किलको सामना गरिरहेका छन् । स्पेनको बैंकले मात्र टर्कीलाई ८३ अर्ब डलर भन्दा बढीको कर्जा दिएको छ भने फ्रान्सका बैंकहरुले ३४.४ अर्ब डलर बराबरको ऋण दिएका छन् । इटलीका बैंकहरुले १७ अर्ब डलर र जापानका बैंकहरुले १४ अर्ब डलर कर्जा टर्कीको अर्थव्यवस्थामा लगाएका छन् ।
ब्रिटेनले समेत टर्कीलाई १९ अर्ब डलरको कर्जा दिएको समाचारमा जनाइएको छ । यस्तै, टर्कीलाई संकटमा फसाउने देश अमेरिकाका बैंकहरुले समेत १८ अर्ब डलर टर्कीमा लगानी गरेका छन् । तर, अमेरिकी बैंकहरुले भने टर्कीमा कर्जाको रुपमा नभई त्यहाँको सेयर बजारमा लगानी गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले टर्कीबाट आयात हुने एल्मुनियम तथा स्टीलको आयात शुल्क बढाएर दोब्बर गरिदिएका छन् । टर्कीको मुद्रा लीरामा जारी गिरावटलाई टम्पको यो निर्णयले अर्को ठूलो धक्का लाग्नसक्ने आँकलन गर्न थालिएको छ ।
अब टर्कीको साथमा लिरालाई सम्हाल्ने विकल्प समेत केही मात्र बाँकी छन् । त्यहाँको अर्थव्यवस्थामा आएको मन्दीबाट महङ्गी अझै बढ्ने त्रास फैलिएको छ, यहाँ अहिलकै अवस्थामा समेत मुद्रास्फिति दर १५ प्रतिशत भन्दा माथि छ । टर्कीका राष्टपति रेचेप तैयप अर्दोयानले लिरालाई अझै अवमूल्यन हुन नदिन ब्याजदर बढाउन सक्नेछन्, जसबाट महङ्गी अझै बढ्नेछ । यहाँको महंगी दरको यो आँकडा कति धेरै अत्यासलाग्दो छ भन्ने कुराको आँकलन गर्नका लागि टर्कीका छिमेकी देशहरुलाई हेरे पुग्छ, किनभने ती देशको मुद्रास्फिति दर करिब २ प्रतिशत मात्र रहेको छ ।
लिराको बढ्दो संकटले अन्य विकासशील र विकासोन्मोख देशलाई समेत चपेटामा पार्नसक्ने चिन्ता समेत बढ्न थालेको छ । कतिपय विश्लेषकको भनाईमा अहिलेको टर्कीको संकट सन् २००८ मा देखिएको ग्रीस संकट जस्तै हो । तर, अर्काथरि अर्थशास्त्री भने यो तर्कप्रति असहमति जाहेर गर्छन्, उनीहरुको भनाईमा टर्कीको अर्थव्यवस्था ग्रीस भन्दा ४ गुणा ठूलो छ र यसको आवादी समेत ग्रीसको तुलनामा ७ गुणा बढी छ ।
जारी संकटबाट मुलुकलाई पार दिन टर्कीसँग विदेशी मुद्राको पर्याप्त भण्डारण छैन । हाल यो देशसँग १३० अर्ब डलर बराबरको मात्र विदेशी मुद्रा भण्डारण रहेको छ, जबकि विदेशी कर्जा मात्रै १८० अर्ब डलर रहेको छ ।
डलरकै कारण भारत, पाकिस्तान र नेपालको मुद्रा समेत राम्रो अवस्थामा छैनन् ।
भारतीय मुद्रा यो वर्ष मात्रै ९ प्रतिशतले कमजोर भइसकेको छ । इण्डोनेशियाको रुपैयाँ डलरको तुलनामा साढे ८ प्रतिशत अवमूल्यन भइसकेको छ भने अफगानी मुद्रामा समेत ८ प्रतिशत भन्दा बढीको गिरावट आइसकेको छ ।
भारतको टर्कीको अर्थव्यवस्थासँग निकै कम सम्बन्ध छ । यसकारण भारतीय मुद्रा टर्कीकै कारण अझै धेरै अवमूल्यन हुने संभावना कम रहेको जानकार बताउँछन् । यसो भयो भने नेपाली रुपैयाँको अवमूल्यन समेत बढ्ने छैन ।
भारतीय रुपैयाँमा भइरहेको गिरावटको मुख्य कारण चाहि पेटोल डिजेल खरीदका लागि उसले डलरमा गर्ने गरेको भुक्तानी हो । भारतले आफ्नो कुल डलर खरीदमध्ये ७० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थसँग सम्बन्धित उत्पादन खरीदमा खर्च गर्ने गर्दछ ।
(बीबीसी, न्यूयोर्क टाइम्स, सिएनबिसी, सिएनन मनी र रोयटर्समा प्रकाशित समाचारलाई आधार बनाई तयार पारिएको रिपोर्ट)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago