काठमाण्डौ । आर्टिफिसल इन्टेलिजन्सको क्षेत्रमा लगानी गरेका व्यवसायी स्याम अल्ट्मनले एउटा नयाँ क्रिप्टोकरेन्सी परियोजना घोषणा गरेका छन्। त्यसलाई ‘डिस्टोपिअन’ को संज्ञा दिइएको छ।
मानिसहरुलाई आफ्नो आँखा स्क्यान गरेबापत वर्ल्डक्वाइनले डिजिटल क्वाइन उपलब्ध गराउँछ। यो परियोजना सार्वजनिक गरिएको पहिलो दिन विश्वका विभिन्न स्थानमा मानिसहरु वर्ल्डक्वाइनको ‘ओर्ब’ अर्थात् गोलाकार उपकरणमा आफ्नो आँखा स्क्यान गराउन लाम लागेका थिए।
बीबीसीले लन्डनस्थित एउटा स्क्यानिङ स्थलको अवलोकन गरेको थियो। त्यहाँ उक्त प्रक्रियामा सहभागी मानिसहरुलाई निःशुल्क क्रिप्टो टोकन प्रदान गरिएको थियो।
च्याटजीपीटी विकास गरेको ओपन एआई कम्पनीका प्रमुख कार्यकारी अल्ट्मनले आफ्नो परियोजनाबाट मानव र रोबट छुट्ट्याउन सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन्। ‘वर्ल्डक्वाइनले व्यापक रुपमा आर्थिक अवसर बढाउन सक्छ, गोपनीयता कायम गर्दै अनलाइन आर्टिफिसल इन्टेलिजन्स (एआई)बाट मानिसहरुलाई छुट्ट्याउने कुरामा भरपर्दो उपाय बन्न सक्छ’, कम्पनीको वेबसाइटमा राखिएको एउटा विज्ञप्तिमा उनले दाबी गरेका छन्।
वर्ल्डक्वाइनले आफ्नो प्रणालीबाट विश्वभरि ‘एआईमा आधारित’ आधारभूत आम्दानी गर्ने बाटो खोलिदिन सक्ने दाबी गरेको छ। तर, त्यो कसरी भन्ने कुरा अझै स्पष्ट छैन।
विश्वव्यापी आधारभूत आम्दानीको अवधारणामा सबै नागरिकलाई निश्चित तलब दिइन्छ। वर्ल्डक्वाइनले ‘क्रिप्टो युटोपिआ’ का लागि चालेको कदम यद्यपि करोडौँ वा अर्बौँ मानिसहरुले आँखा स्क्यान गराएर आफू मानव भएको पुष्टि गर्नुमा निर्भर हुनेछ।
दुई वर्षअघि स्क्यानरको परीक्षण सुरु भएयता वर्ल्डक्वाइनका अनुसार ३३ देशमा २० लाख जनाभन्दा बढी मानिसहरु क्रिप्टो डेटाबेसमा समाविष्ट भएका छन्। कम्पनीका अनुसार युरोप, भारत र दक्षिणी अफ्रिकाका धेरै मानिस उक्त परियोजनामा सहभागी भएका छन्।
वर्ल्डक्वाइन अमेरिकी कम्पनी हो। तर, नियमनसम्बन्धी चिन्ताका कारण अमेरिकी नागरिकहरुलाई भने क्रिप्टो क्वाइन उपलब्ध गराइएको छैन।
परियोजना पूर्ण रुपमा सार्वजनिक भइसकेको र क्रिप्टो टोकन कारोबारमा आइसकेका कारण उक्त कम्पनीले झन् ख्याति कमाउने अपेक्षा गरिएको छ। वर्ल्डक्वाइनले अनलाइनमा सार्वजनिक गरेको एउटा तस्बिरमा मानिसहरु जापानस्थित एउटा स्थानमा पंक्तिबद्ध भएको देखिन्छ। उक्त कम्पनीले विश्वभरि आँखा स्क्यान गराउन १ हजार ५०० वटा ओर्ब सञ्चालनमा ल्याउने योजना बनाएको छ।
बीबीसी पूर्वी लन्डनस्थित एउटा स्थानमा पुग्दा मानिसहरु त्यहाँ क्रमिक रुपमा भेला भइरहेका थिए। अनुहार र आँखाको नानी स्क्यान गरेर सुरु हुने प्रक्रियाले तपाइँ मानव रहेको प्रमाणित गर्छ। त्यसका लागि ओर्बमा जडित क्यामराको लेन्समा १० सेकेन्डजति हेर्नुपर्ने हुन्छ। अनि काम सफल भएको पुष्टि गर्न उक्त उपकरणबाट एउटा ध्वनिसंकेत आउँछ।
उपकरण सञ्चालन गर्ने एक जनाका अनुसार पहिले ओर्बले मानिसहरुसँग कुरा गर्थ्यो। तर, मानिसहरुले त्यो फिचर नरुचाएकाले आवाजलाई पछि हटाइयो। त्यसपछि उक्त परियोजनामा सहाभागी हुने व्यक्तिको आँखाको स्क्यानलाई एउटा विशिष्ट नम्बर दिइन्छ। उक्त नम्बर पूरै डेटाबेसमा राखेर तपाईँको आँखाको स्क्यान पहिलो पटक गरिएको हो कि होइन निर्क्योल गरिन्छ।
अहिलेसम्म उक्त परियोजनामा झन्डै २६ लाख मानिस सहभागी भइसकेका थिए। उक्त प्रक्रिया सकिएपछि आँखा स्क्यान गराउने व्यक्तिलाई २५ वटा क्वाइन दिइन्छ। अहिले एउटा क्वाइनको मूल्य झन्डै २ अमेरिकी डलर छ।
बीबीसीले ती क्वाइन प्राप्त गरेपछि बिक्री गरी बालबालिकाको क्षेत्रमा काम गर्ने परोपकारी संस्था ‘चिल्ड्रन इन निड’लाई दिनेछ। बीबीसी उक्त स्थानबाट बाहिरिँदासम्म १३ जना दर्ता हुने प्रक्रिया सम्पन्न भइसकेको थियो। सबै २० देखि ४० वर्ष उमेर समूहका थिए। ‘स्याम अल्ट्मनले यो परियोजना सुरु गर्ने विषयमा ट्वीट गरेकाले म आएको हुँ’, ३७ वर्षका मोसेस सेरुमागाले भने, ‘केही डलर पाउने भएपछि किन नगर्ने भन्ने मलाई लाग्यो। यो पनि अन्य क्रिप्टो परियोजनाजस्तै काम नलाग्ने वा पछि गएर ठूलो कुरा हुने वा त्यसको मूल्य बढ्न सक्ने हुनसक्छ। तर, मलाई छुट्न मन लागेन’, उनले भने।
तेइस वर्षका टमले पनि आफ्ना आँखा स्क्यान गराए। तर, आफूले पैसाका सहभागी नभएको उनको भनाइ छ। उक्त क्रिप्टोको मूल्य बढ्छ भन्ने उनलाई लाग्दैन। ‘यदि तपाइँ कम विकसित राष्ट्रहरुमा बाहेक अन्यत्र बस्नुहुन्छ भने त्यति क्वाइन प्रोत्साहनका लागि पर्याप्त छ जस्तो मलाई लाग्दैन। अनि यसको मूल्य बढ्ने सम्भावना छ भन्ने पनि मलाई लाग्दैन’, उनले भने।
स्क्यानिङ प्रक्रिया विवादित पनि बनेको छ। कमिसन प्राप्त गर्ने अपरेटरहरुको रणनीतिबारे पनि प्रश्न उठेको छ। विशेषगरी तुलनात्मक रुपमा गरिब राष्ट्रका मानिसहरुलाई दर्ता गराउने विषय विवादित बनेको छ।
गोपनीयतासम्बन्धी विषयका विज्ञहरुले संवेदनशील डेटा दुरुपयोग हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर, वर्ल्डक्वाइनले भने ती डेटा भण्डारण नगरिएको दाबी गरेको छ।
वर्ल्डक्वाइन सञ्चालनमा आएपछि क्रिप्टोकरेन्सी नेटवर्क ‘इथिरिअम’का सहसंस्थापक भिटालिक बुटेरिन उत्साहित देखिएका छन्। तर, उनले सम्भावित जोखिमहरुबारे सचेत पनि गराएका छन्। ‘समग्रमा ओर्बमा हेरेर यसलाई गहिरो रुपमा तपाइँको आँखा स्क्यान गर्न दिने ‘डिस्टोपिअन अनुभूतिका’बीच विशेष हार्डवेअर प्रणालीहरुले गोपनीयता रक्षाका लागि एकदम राम्रो काम गर्न सक्छ जस्तो देखिन्छ’, उनले भने।
यद्यपि विशिष्ट ओर्बमा भर परेर स्क्यान गराउँदा वर्ल्डक्वाइन निकै बलियो हुने भएकाले बाँकी विश्व त्यसमा सहमत हुन नसक्ने सम्भावना पनि उनले औँल्याएका छन्।
ट्विटरका संस्थापक ज्याक डोर्सी क्रिप्टोबारे पनि जानकारी राख्छन्। उनले यो परियोजनाप्रति कटाक्ष गर्दै ट्विट गरेका छन्। यो परियोजनालाई ‘आकर्षक’को संज्ञा दिँदै उनले लेखेका छन्, ‘ओर्ब भएको ठाउँमा जानुहोस् वा ओर्ब आफैँ तपाइँकहाँ आउने छ।’
अल्ट्मनले आलोचनालाई स्वागत गर्दै अनलाइनमार्फत ‘घृणा गर्नेहरुबाट’ आफूहरुलाई ऊर्जा प्राप्त हुने बताए। तर, आफ्नो परियोजना महत्वाकांक्षी रहेको उनले स्वीकार गरे। ‘यसले काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ। तर, यस्ता प्रयोग गरेर नै उन्नति हुन्छ’, उनले ट्विट गरेका छन्। –बीबीसीबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago