काठमाण्डौ । बिहीबारदेखि औपचारिक रुपमा संचालनमा आएको आइएमई लाइफ इन्स्योरेन्सले ८ महिनाभित्रमा सर्वसाधारणका लागि ६० करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

बिमा समितिबाट नयाँ लाइसेन्स पाउने १० जीवन बिमा कम्पनीमध्ये सबैभन्दा पहिला कारोबार सुरु गरेको आइएमई लाइफ इन्स्योरेन्सको सेवा शुुभारम्भको बिषयमा बिहीबार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट यस्तो जानकारी दिइएको हो । 

कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी २ अर्ब चुक्तापूँजी पुर्याउन आइपीओ जारी गरिने जानकारी दिइएको हो । 

हाल भने यो कम्पनी १ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित संचालनमा आएको हो ।

लौनचौरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले १ वर्षमा ६० देखि ६५ शाखा खोल्ने योजना बनाएको कार्यक्रममा जानकारी दिइयो । काठमाण्डौ उपत्यकामा मात्र यो जीवन बिमा कम्पनीको ७ वटा शाखा रहने कम्पनीका महाप्रबन्धक राकेश पोखरेलले जानकारी दिए । उनका अनुसार शाखा संचालनका लागि कम्पनीले बिमा समितिमा आवेदन दिइसकेको छ ।  

हाल कम्पनीको संचालक समितिको अध्यक्षमा डा. रामहरी अर्याल छन् भने संचालकहरुमा सञ्चालकहरुमा अश्विनी अर्याल, दिपक शर्मा, इश्वर कार्की र दिपचन्द्र रेग्मी छन् । २ संचालकको भने चयन हुन बाँकी छ । 

कम्पनीमा आईएमई समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट, नवराज नेपाल लगायतको लगानी छ ।