काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ अन्तिम दिनमा आवेदनको भीषण् वर्षा भएको छ । 

सिडिएससीका अनुसार अनुसार आज सोमबार ५ बजेसम्म ६ लाख ६ हजार ५४० आवेदन परेको छ । यो आवेदनको संख्या अहिलेसम्मैकै सर्वाधिक रेकर्ड रहेको सिडिएससीले जनाएको छ ।

आज अन्तिम दिन सोमबार ५ बजेसम्म रिलायन्सको आइपीओमा मागभन्दा ४.२७ गुणा बढी आवेदन परेको हो । 

सिडिएससीका अनुसार यो अवधिसम्म रिलायन्सको आइपीओमा २ करोड ४१ लाख ९३ हजार ५४० कित्ता माग भएको हो।

कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको हो। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो। यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ।