काठमाण्डौ । प्रिमियममा आईपीओ जारी गरेका चार जीवन बीमा कम्पनीले प्रिमियमको रकमबाट बोनस बाँड्न नपाउने भएका छन् ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएपछि आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ निष्कासन गरेका थिए ।
चुक्तापूँजी बृद्धिका लागि यी चार जीवन बीमा कम्पनीले छुट्टै रकमबाट बोनस सेयर जारी गरी सोका लागि लाग्ने कर प्रयोजनका लागि मात्रै प्रिमियम रकम छुट्याउन पाउने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।
आईपीओ जारी गर्दा थप हुन आएको प्रिमियम रकमबाट मात्रै बोनस सेयर जारी गरेर सेयरधनीहरुलाई वितरण गर्न नपाउने अध्यक्ष सिलवालले विजशालासँग भने ।
‘प्रिमियम रकमबाट मात्रै बोनस सेयर जारी गरेर लगानीर्तालाई बाँड्न मिल्दैन तर उक्त रकम पूँजी बृद्धिका लागि डिकोड गर्न अर्थात् कर प्रयोजनका लागि छुट्याउन पाउनेछ’ उनले भने, ‘प्रिमियममा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीले छुट्टै रकमबाट बोनस सेयर जारी गरेर पूँजी बढाउनुपर्नेछ ।’ 
 
साथै थप हुन आएको प्रिमियम रकम बोनस सेयर वितरणका लागि प्रयोग गरी कम्पनीबाट बाहिरिन नदिने अध्यक्ष सिलवालले बताए ।
आइएमई लाइफ र रिलायबल नेपाल लाइफलाई प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुर्याउन अझै २५/२५ प्रतिशत पूँजी बृद्धि गर्नुपर्ने देखिन्छ । त्यस्तै, सिटिजन लाइफलाई ३३.३३ प्रतिशत र सन नेपाल लाइफलाई ५६ प्रतिशत पूँजी बृद्धिको आवश्यक छ ।
चार जीवन बीमा कम्पनीले आईपीओ निष्कासनपश्चात् कुल ६ अर्ब १० करोड ३६ लाख रुपैयाँ प्रिमियम आर्जन गरेका छन् । जसमा सिटिजन लाइफले १ अर्ब ५५ करोड, आइएमई लाइफले १ अर्ब ५३ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ७५ करोड र सन नेपाल लाइफले १ अर्ब २६ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन् । प्राधिकरणका अनुसार अब यी चार कम्पनीले पूँजी बृद्धिका लागि थप कसरत गर्नुपर्नेछ ।
गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफा लगायतको बीमांकीय मुल्यांकन प्रतिवेदन प्राधिकरणबाट स्वीकृत गराएपछि कम्पनीले वितरणयोग्य मुनाफाबाट बोनस सेयर वितरण गरी पूँजी बृद्धि गर्नुपर्नेछ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19