काठमाण्डौ ।प्रिमियम मूल्यमा आईपीओ जारी गरेका बीमा कम्पनीहरुले थप भएको प्रिमियम रकम जगेडा कोष(रिजर्भ फण्ड) मा राख्नुपर्ने भएको छ । 
 

सार्वजनिक लेखा समितिले प्रिमियममा आईपीओ जारी भएका बीमा कम्पनीहरुमा चासो देखाएपछि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई थप हुन आएको प्रिमियम रकम जगेडा कोषमा राख्न लगाउने तयारी गरेको हो । 
 

हिमालयन रि-इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ, रिलायबल नेपाललाइफ, सन नेपाल लाइफ गरी ५ बीमा कम्पनीले प्रिमियममा आईपीओ जारी गरेका थिए ।
 

प्राधिकरणले उक्त कम्पनीहरुलाई मौखिक रुपमा निर्देशन दिइसकेको छ भने अब लिखित रुपमै निर्देशन दिने तयारी गरेको प्राधिकरणका एक उच्च अधिकारीले बिजशाला डटकमसँग भने । 
 

‘प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीहरुले थप भएको प्रिमियम रकम जगेडा कोषमा सञ्चित गरी राख्नु पर्नेछ, जुन कम्पनी ऐनमा नै छ’ ती अधिकारीले भने, ‘सो कम्पनीहरुले गत आर्थिक वर्षको साधारण सभा नहुँदासम्म एक वर्षको लागि उक्त रकम चलाउन पाउँदैनन् । थप भएको प्रिमियम रिजर्भ फण्डमा संचित गर्नु पर्नेछ ।’ 
 

साथै गत पुष २२ गते सार्वजनिक लेखा समितिले बीमा ऐन विपरीत बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको विषयमा चासो देखाएको थियो । सो विषयमा समितिले प्राधिकरणलाई उक्तकार्य सच्याउन दिर्नेशन दिएको थियो ।

प्राधिकरणले समितिको पालनागर्दै प्रिमियम रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । 

ती अधिकारीकाअनुसार प्रिमियममा आईपीओ जारी भएका बीमा कम्पनीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएका कारण सो अवधिसम्म उक्त रकम बीमा कम्पनीले कुनै प्रयोजनका लागि चलाउन पाउँदैनन् । 

हिमालयन रिइन्स्योरेन्सले प्रिमियमबापत ३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ भने आइएमई लाइफले १ अर्ब ५६ करोड ७ लाख संकलन गरेको छ ।

त्यस्तै, सिटिजन लाइफले १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २६ करोड  लाख रुपैयाँ संकलन गरेको छ । 
 

ती बीमा कम्पनीले आईपीओको प्रिमियमबाट कुल ९ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ संकलन गरेका छन्, जुन रकम प्राधिकरणले आ–आफ्नै जगेडामा निर्देशन दिएको छ ।