काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा १६ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६६.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ७१.२४ प्रतिशतले बढेर २५ करोड ९२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १५ करोड १३ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले ४१ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड ५६ लाख रुपैयाँ रहेको थियो।

चौथो त्रैमाससम्म संस्थाले २ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

संस्थाको रिजर्भको आकार ५३.७७ प्रतिशतले बढेर ४२ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २७ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १७ करोड २१ लाख रुपैयाँ रहेको संस्थाको खराब कर्जा (एनपीएल) ६.९७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.१७ प्रतिशतमा सीमित थियो। 

नेष्डो समृद्धि लघुवित्तले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। आईपीओ निष्कासनको अनुमति माग्दै संस्थाले गत असार ६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।