काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई गत असार मसान्तसम्म कायम चुक्तापुँजी ९२ करोड ६५ लाख २ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १३ करोड ८९ लाख ७५ हजार ३०० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा चुक्तापुँजीको १०.५० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख ८२ हजार ७१० रुपैयाँबराबरको बोनस सेयर र ४.५० प्रतिशतले हुन आउने ४ करोड १६ लाख ९२ हजार ५९० रुपैयाँबराबरको नगद लाभांश रहेकाछन्। यो बोनस सेयर अघिल्लो आर्थिक वर्षको तुलनामा डबल बढी हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश रहेको थियो।