काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले आउँदा दिनहरुमा नेपालमा गरिने लगानीको भविष्य उज्ज्वल रहेको  बताएका छन् । साथै उनले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा राम्रो अवसर रहेको बताए ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित दुई दिने सम्मेलनमा उनले भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई एसिया प्रशान्त क्षेत्रका उद्योगी तथा व्यापारीहरुको भेलाले सहयोग पुग्‍ने बताए ।

भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्‍ने प्रतिबद्धता गरेको भन्दै उनले लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए। बंगलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्‍चित गरेको उनको भनाइ छ ।
 

अर्थमन्त्री महतले पर्यटन क्षेत्रमा पनि लगानीको ठूलो अवसर रहेको बताए ।

उनले नेपालमा लगानीका लागि सूचना प्रविधि अर्को महत्त्वपूर्ण क्षेत्र भएको भन्दै सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्‍ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको पनि बताए  ।