काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडलाई नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत(२ बराबर एक) हकप्रद निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको छ । 

मंगलबार बोर्डले कम्पनीले हकप्रद घोषणा गरेको करिब ४ महिनापछि निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको हो । 

गुहेश्वरी मर्चेन्टको २०७३ बैशाख २ गते सम्पन्न विशेष साधारणसभाले आफ्ना सेयरधनीलाई ५० प्रतिशतको दरले हकप्रद वितरणको घोषणा गरेको थियो । सो घोषणा स्वीकृतिका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेको थियो । 

बोर्डबाट अन्तिम स्वीकृति आएसँगै अब गुहेश्वरीले आफ्ना सेयरधनीका लागि १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद निश्कासन गर्ने तयारी थालेको छ । 

हकप्रदको निश्कासन तथा व्यवस्थापनका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । हकप्रद कुन मितिबाट निश्कासन सुरु हुन्छ भन्ने चाहि निश्चित भइसकेको छैन । 

गुहेश्वरी मर्चेन्टले आर्थिक वर्ष २०७२ ७३ को अवधिमा ७ करोड खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेको छ । हकप्रदको व्यवस्थापनपछि चुक्तापूँजी ४४ करोड ६ लाख पुग्ने बताइएको छ ।