काठमाण्डौ । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जलविद्युतमा नेपाली नागरिकको लगानी प्रवद्र्धन गर्न ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम घोषणा गरेका छन् । 

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उर्जामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरण र त्यसका सहायक कम्पनीमार्फत २ वर्षभित्र थप ८ सय ५० मेगावाट बिजुली उत्पादनका लागि ठूला जलविद्युत आयोजनाको निर्माणलाई प्राथमिकतामा राखिने र त्यस्ता आयोजनाहरुबाट करोडौं कित्ता सेयर निश्कासन गरी जनतालाई लगानीको अवसर दिइने घोषणा गरेका हुन् । 

उनका अनुसार सरकारले १० हजार ८ सय मेगावाटको चिसापानी कर्णाली आयोजनालाई सार्कस्तरीय आयोजनाका रुपमा अघि बढाउने भएको छ । सेनाको लगानीमा पनि जलविद्युत आयोजना निर्माण हुने बताउँदै उनले बुढीगण्डकीमा जनताको लगानी महंगो पर्ने भएकाले सरकारले ऋणमार्फत बनाउने पनि जानकारी दिए । बुढीगण्डकी आयोजनाको निर्माणमा प्रतियुनिट १३ देखि १४ रुपैयाँ खर्च हुने उनको दाबी छ । 

शर्माले विसं २०८२ भित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजनाहरुको निर्माण गरिने र त्यस्ता आयोजनामा बढीभन्दा बढी जनताको लगानीलाई प्रोत्साहित गरिने दाबी गरे । त्यसअवधिसम्म ३० हजार मेगावाट क्षमताका आयोजनाको विस्तृत अध्ययन गरिसक्ने लक्ष्य लिइएको उनको प्रष्टोक्ति छ । 

२ वर्षभित्र लोडसेडिङ अन्त !
उनले  आगामी २ वर्षभित्र लोडसेडिङ पूर्णरुपमा अन्तको महत्वकांक्षी घोषणा समेत गरेका छन् । पत्रकार सम्मेलनमा ३७ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले दुईवर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा १ हजार ४५० मेगावाट बिजुली थप्ने दाबी पनि गरे । 

‘राष्ट्रिय ऊर्जा संकट निवारण कार्यायोजनाका आधारमा अब आयोजनाका काम अघि बढ्नेछन्।’ उनले थपे । 
आगामी २ वर्षभित्रमा निजी प्रवद्र्धकबाट ४ सय मेगावाट बिजुली थप हुने, सोलार र जैविक ऊर्जामार्फत २ सय मेगावाट बिजुली राष्ट्रिय जोडिइने पनि उनले दाबी रे । लोडसेडिङ अन्तका लागि भारतबाट ६०० मेगावाट बिजुली आयातको तयारी पनि भइरहेको उनले जानकारी दिए । 

मन्त्री शर्माले पत्रकार सम्मेलनमा विद्युत जडानको क्रममा मिटर अभावको समस्यालाई पूर्ण अन्त गरिने दाबी गरे । उनले नेपाल विद्युत प्राधिकरणको वित्तीय संरचना र अवस्थामा सुधार गर्दै उच्च नाफा आर्जन गर्ने संस्था बनाइने घोषणा पनि गरे । मन्त्री शर्माले निकट भविष्यमै विद्युत महसुल भुक्तानीका लागि स्मार्टकार्ड प्रयोगमा ल्याउने र जग्गाधनी प्रमाणपुर्जा नभएका सुकुम्बासीलाई पनि मिटर जडानको व्यवस्था गरिदिने घोषणा पनि गरे ।