काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले असोज १(आज)देखि १ बराबर १ को अनुपातमा(१०० प्रतिशत) हकप्रद निश्कासन गरेको छ । 

यो फाइनान्स कम्पनीका सेयरधनीले हकप्रद निश्कासनको ३५ दिनभित्र कात्तिक ५ सम्म तोकिएका स्थानमा आवेदन दिन सक्नेछन् । 

यो कम्पनीको हकप्रद प्रयोजनका लागि भदौ १४ गतेलाई बुक क्लोजको मिति तय गरेको थियो । यसको अर्थ भदौ १२ गतेभित्र यो फाइनान्सको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र निश्कासित हकप्रदमा आवेदन दिन पाउनेछन् । 

जेबिल्स फाइनान्सले एकसय रुपैयाँ अंकित मूल्यका २८.८९ लाख कित्ता हकप्रद निश्कासन गरेको हो । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले सनराइज क्यापिटलको मूख्य कार्यालय तथा जेबिल्स फाइनान्स लिमीटेडका सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

गत पुस २७ गते सम्पन्न सातौ वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा हकप्रद र १२.५० प्रतिशत बोनस सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी २८ करोड ८९ लाख रुपैयाँ रहेको छ। सतप्रतिशत हकप्रदपछि चुक्तापूँजी ५७ करोड ७८ लाखको उचाईमा पुुग्नेछ । यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४२ रुपैयाँ रहेको छ ।