काठमाण्डौ । दोश्रो बजारमा १२ सय रुपैयाँ भन्दा बढी प्रतिकित्ताको दरले कारोबार भइरहेको नागबेली लघुवित्त वित्तीय संस्था लिमीटेडले आजदेखि सतप्रतिशत हकप्रदको बिक्री खुलाएको छ । 

साउन ४(आज)देखि खुलेको हकप्रद खरीदका लागि भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ६६ हजार ४ सय ६५ कित्ता सेयर निश्कासन गरेको हो । 

एनएमबी क्यापिटल लिमीटेड हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

हकप्रद सेयरका लागि कम्पनीले गत असार २१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ असार २० गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा सो मितिसम्म सेयरधनी कायमले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर १५ करोड ३२ लाखको उचाईमा पुगेको छ । 

इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड फोरको रेटिंग पाएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर भन्ने हो । 

यो माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ करोड ८३ लाख खूद नाफा आर्जन गरेको थियो ।