काठमाण्डौ । बेलायतका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ले त्यहाँका आम कर्मचारीहरुले वर्षभरिमा कमाउने तलब तीन दिनमै कमाइसक्ने तथ्य सार्वजनिक भएको छ ।

औसत फूल टाइम आम काम गर्ने कर्मचारीले कमाउने तलब लण्डन स्टक एक्सचेन्जमा सूचीकृत १०० कम्पनी 'एफटीएसई १००' मा परेका कम्पनीका सीईओले नयाँ वर्षको बिहीबार मध्यान्नसम्ममा कमाइसक्ने हाइ पे सेन्टरले जनाएको छ । 

बेलायतमा फूल टाइम काम गर्ने कर्मचारीको वार्षिक औसत तलब ३४ हजार ९६३ पाउण्ड छ । यो कमाईलाई एफटीएसई १०० का सीईओको तीन दिनको कमाईले उछिनेको पे सेन्टरले उल्लेख गरेको छ । 

सेन्टरका अनुसार बेलायतमा पेन्सनसहित सीईओको तलब वार्षिक औसत ३८ लाख १० हजार पाउन्ड छ । जुन प्रतिघन्टाको हिसाबले १ हजार १७० पाउन्ड हुन आउँछ ।

यो रकम औसत फूल टाइम काम गर्ने कर्मचारीको प्रतिघण्टा तलबभन्दा १०९ गुणा बढी हो । 

कामदारहरुले वर्षभरिमा कमाउने रकम कमाउन बेलायती शीर्ष वकिलहरुले अर्को साताको सुरुवातसँगै कमाउछन् ।  

त्यस्तै एफटीएसई ३५० मा सूचीकृत कम्पनीहरुका कार्यकारीहरुको औसत तलब १३ लाख २० हजार पाउण्ड छ । यसको अर्थ औसत बेलायती कामदारहरुले वर्षभरिमा कमाउने रकम कार्यकारीहरुले जनवरी १० सम्ममा कमाइसक्छन् । 

यी आकडा कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको तलबमा आधारित छ । ४८ जना सदस्य भएको बेलायतको ट्रेड यूनियन कंग्रेसले यो आकडाले बेलायतको असमान तलबलाई दर्शाएको जनाएको छ । 

सन् २०२३ मा बैंक तथा वित्तीय क्षेत्रका अग्रणी व्यक्तिहरुले बेलायतको कार्यकारी प्रमुख पदका लागि उच्च तलब सुविधाको माग गरेका थिए । अमेरिका जस्ता उच्च तलब सुविधा भएका देशहरुलाई उद्धृत गर्दै उनीहरुले यस्तो माग गरेका थिए ।

अमेरिकी सेयर बजार एसएण्डपी ५०० मा सूचीकृत कम्पनीका मालिकहरुको तलब सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा १४ मिलियन डलरले धेरै छ ।-एजेन्सी