काठमाण्डौ । आरएमडिसी लघुवित्तको नाफामा उछाल आएसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) बढेर १०१ रुपैयाँ ५० पैसाको लोभलाग्दो उचाईमा पुगेको छ । 

यो कम्पनीले गत वर्षको पहिलो त्रैमाससम्म ६ करोड ५ लाखमा सीमित खूद नाफा बढाएर २६ करोड २४ लाख पुर्याएसँगै इपीएसमा उछालको अवस्था देखिएको हो । 

यो कम्पनीले अघिल्ला वर्षको पहिलो त्रैमासमा ९ करोड ६१ लाखमा सीमित संचालन मुनाफालाई बढाएर १० करोड ६६ लाखको उचाई चुमाएको छ । 

यस्तै, अघिल्लो वर्ष १० करोड १८ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १२ करोड १७ लाख पुगेको छ भने १ अर्ब ५८ करोडमा सीमित रिजर्बको आकार बढेर २ अर्ब १ करोड पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले ९ अर्ब ४४ करोड सापटी ल्याई १२ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ भने ७ करोड ७० लाख लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा सापटी र ऋण लगानी बढेको देखिएको छ भने लगानी भने घटेको देखिएको छ । 

समीक्षा अवधिमा यो कम्पनीको खराब कर्जा अनुपात ०.०५ प्रतिशत, कस्ट अफ फण्ड ६.९६ प्रतिशत, मूल्य आम्दानी अनुपात १४.७३ गुणा, प्रतिसेयर नेटवर्थ २९४.३७ रुपैयाँ, तरलता अनुपात ३.१४ प्रतिशत र पूँजीकोष अनुपात २२.१३ प्रतिशत कायम भएको छ ।