काठमाण्डौ । भारतको हवाई कम्पनी इन्डीगोले आफ्ना १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ।

कम्पनीका सीईओ रोनोजोई दत्ताले कोरोना महामारीका कारण उत्पन्न भएको आर्थिक संकटका कारण यस्तो निर्णय गर्नुुपरेको बताएका छन्। उनले आफ्नो बयानमा वर्तमान अवस्थामा कम्पनीलाई आर्थिक संकटबाट पार लगाई सञ्चालन गर्नका लागि केही बलिदानहरु बिना यो असम्भव भएको स्पष्ट पारे। 

गत महिना इन्डीगोले ५३३ मिलियन डलर खर्च कटौती गर्ने जनाएको थियो। भारत सरकारले कोरोना रोकथामका लागि जारी गरेको कडा लकडाउनका कारण इन्डीगोका २४ हजार कर्मचारी भएका विमानहरु ग्राउन्डेड भएका छन्। इन्डीगो भारतमा सबैभन्दा धेरै ग्राहक भएको विमान कम्पनीमा पर्ने गर्दछ र गत मार्च महिनासम्म कम्पनीको कुुल मार्केट सेयर ४८.९ प्रतिशत थियो। 

कम्पनी विगत १० वर्षदेखि निरन्तर रुपमा नाफामा चलिरहेको थियो। विश्वका हवाई कम्पनीहरुले अहिलेसम्मकै सबैभन्दा खराब वर्ष हुुन सक्ने अनुुमान लगाएसँगै इन्डीगोको कर्मचारी कटौती गर्ने घोषणा सार्वजनिक भएको हो। गत महिना विश्व हवाई उड्यन संगठनले यो वर्ष हवाई कम्पनीहरुले ८४ बिलियन डलरभन्दा धेरै घाटा व्यहोर्नुुपर्ने चेतावनी दिएको थियो। 

त्यस्तै २९० वटा हवाई कम्पनी सदस्य भएको अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आईएटीए) ले यो वर्ष गत वर्षको तुुलनामा ५० प्रतिशत अर्थात ४१९ बिलियन डलर आम्दानी घट्ने जनाएको थियो। 

कोरोना महामारीका कारण विश्वभरका हवाई उद्योगहरु नराम्ररी थलिएका छन्। यसको प्रभावस्परुप गत सातामात्रै बेलायतको ब्रिटिस एयरवेजले बोइङ ७४७ का आफ्ना सबै विमानहरु सदाका लागि ग्राउन्डेड गर्ने घोषणा गरेको थियो। – एजेन्सी