काठमाण्डौ । बंगलादेश र भारतले आर्थिक कारोबारलाई सुदृढ  गर्नका लागि स्वतन्त्र व्यापार सम्झौता(एफटीए) गर्ने तयारीमा जुटेका छन् ।

ती दुवै देशका अधिकारीहरु बीच हालै राजधानी ढाकामा आयोजित एउटा बैठकमा चाँडै नै उक्त सम्झौता बारे टुंगामा पुग्ने सहमति भएको छ ।
भारतको वाणिज्य मन्त्रालय अनुसार उक्त बैठकमा बन्दरगाहसँग जोडिएका प्रतिबन्ध तथा व्यापक आर्थिक साझेदारी एवं सम्झौताबारे द्विक्षीय साझा मुद्धा बारे छलफल भएको छ ।

बंगलादेशका लागि चाहिने जरुरि मालवस्तुको आपूर्ति तथा भन्सार तथा सिमाशुल्क बारे पनि चर्चा भएको छ । यसका अतिरिक्त दुवै देशबीच भविष्यमा सेवा तथा लगानीका क्षेत्रको व्यापारमा बढावा दिने लक्ष्य रहेको  छ । 

एफटीए लागू हुनुअघि खासगरी सडक, रेल पूर्वाधारको विकास, मल्टि मोडल पूर्वाधारका साथै भूमि सिमा शुल्क, एकीकृत जाँच चौकी सिमा हाटबाजरको विकास तथा विस्तारको बारेमा पनि थप निर्णय गर्न आवश्यक रहेको छ । दुवै देशबीच द्विपक्षीय व्यापार  सन् २०२१-२२ मा १८.१३ अरब डलरबाट घटेर  २०२२-२३ मा १४.२ अरब डलर रहेको छ ।

त्यसो त उनीहरुले यसअघि नै भारतीय रुपैयाँ(भारु) मा व्यापार शुरु गरिसकेका छन् । विदेश व्यापारमा अमेरिकी डलरमाथिको निर्भरता कम गर्न र क्षेत्रीय मुद्रा अनि व्यापारलाई बलियो बनाउन सो पहल गरिएको छ ।

बंगलादेशले विदेश व्यापारमा डलरबाहेक अन्य मुद्रामा भुक्तानी गरेको यो पहिलो पटक हो । भारुमा भुक्तानीलाई बंगलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुकदेरले महान यात्राको पहिलो कदमको संज्ञा दिएका छन् ।

भारुमा व्यापार शुरु भएसँगै अब विस्तारै बंगलादेशी मुद्रा टाकामा पनि भुक्तानी शुरु हुनेछ ।विनिमय दर भने बजारको माग र भुक्तानी प्रक्रियामा संलग्न बैंकहरूका आधारमा निर्धारण गरिएको छ । भारतसँग बंगलादेशको विशाल व्यापार घाटा रहेको छ । एजेन्सी