प्रकाश बञ्जारा
युएई । सिकाई, गराई र भोगाईले व्यक्तिलाई सफलतातिर लम्काउँदै जान्छ । यदि सिक्न, गर्न र नयाँ चुनौतीलाई स्वीकार नगर्ने हो भने सफलता मुश्किल हुँदै जान्छ, तर सकारात्मक इख लिएर अगाडि बढ्यो भने तपाई पक्कै पनि आफ्नो सोचेको विन्दुमा पुग्न सक्नुहुन्छ । त्यसै भयो काठमाण्डौको बौद्घमा जन्मे हुर्केका लाल तामाङ्गको जीवनमा पनि ।  
दरबार हाईस्कुलबाट एसएलसी सकाएर त्यतिबेला काठमाण्डौको रवी भवनमा रहेको होटल टुरिजम म्यानेजमेन्ट स्कुलमा होटल म्यानेजमेन्ट पढिरहँदा तामाङ्गले पढाई सकेर एउटा राम्रो वेटर बन्नेछु भन्ने सोचेका रहेछन् । कुलिनरी अर्थात पाककला क्षेत्रमा प्रवेश गर्छु र एउटा सफल सेफ बन्छु भन्ने सोचाई नै नभएका लाल कसरी एउटा पाँचतारे होटलको एक्जुकुटिभ सेफ अर्थात पाककला विभागका प्रमुख बने त ? कथा चाखलाग्दो छ ।
सफल व्यक्तिहरुका कथा समेटेर अरुलाई सफलताको बाटोमा डोहोर्याउने प्रयास गरिरहेको बिजशालाले यसपटक दुवईकै एक पाँच तारे होटलमा कार्यरत सेफ सुकदेव पन्तमार्फत सेफ लाल तामाङ्गसँग जोडियो । हाम्रो आग्रहलाई स्वीकारे पछि हामी लाल तामाङ्गले काम गर्ने होटल दुवईको अत्यन्त चाप भएको क्षेत्र डाउनटाउनमा रहेको रोडा अलमुरुज पुग्यौं । हामीलाई त्यहाँसम्म पुर्याउन सोही होटलमा काम गर्ने अर्का सेफ हरी खत्रीले सहयोग गरे ।
तामाङ्गसँगको झण्डै ३ घण्टाको भलाकुसारी पछि थाहा भयो कमिक ३ कुकबाट शुरु भएको उनको कुलिनरी यात्रामा एक्जुकुटिभ सेफसम्म आइपुग्दा थुप्रै सँघर्षका पहाडहरु छिचोलिएको रहेछ ।
हुन पनि एक सफल सेफ हुन त्यत्ति सजिलो छँदै छैन । होटलमा आउने हरेक पाहुनालाई स्वादिस्ट खाना खुवाएर रिझाउनु, पल्काउनु र बारम्बार आउने बनाउने त झनै सेफको पाककला हो । तामाङ्गको भाषामा सेफ भनेको एउटा पेन्टर जस्तै हो जसले खानालाई राम्रो सँग डिजाईन गरेर मिलाएर आकर्षक शैलीमा पाहुनाको अगाडि प्रस्तुत गर्छ । राम्रो कुक मात्र हुन भन्दा राम्रो सेफ हुन गाह्रो रहेछ ।
“राम्रो कुक त हाम्रो ममी, ड्याडी र श्रीमति पनि हो, जसले पकाको खाना हामीलाई जहिल्यै स्वादिस्ट र मिठो लाग्छ, तर राम्रो सेफ त्यो हो जसले खानालाई आकर्षक शैलीमा प्रस्तुत गर्नसक्छ ।” सेफको परिभाषा दिँदै तामाङ्ग भन्छन् ।
तामाङ्गले होटल म्यानेजमेन्टको ६ महिना कक्षा सकाएपछि राजधानीकै सोल्टी होटलमा ३ महिना र एभरेस्ट होटलमा ३ महिना प्रशिक्षार्थी(इन्टर्न) को रुपमा काम गरेका रहेछन् । सोल्टि होटलमा इन्टर्न गर्दाका बखत बुफेटबाट तातो ग्रेभी(झोल) निकाल्दा आफ्नै हातमा लागेर पोलेपछि त्यहीँ काम गर्ने एक सिनियर भारतीय सेफले “तिमी कहिल्यै सेफ बन्न सक्दैनौ” भनेर भनेका थिए रे । भर्खरै १८-१९ बर्षमा हिँड्दै गरेको जवान केटोलाई सिनियर भनिएका ती भारतीय सेफले लगाएको बचन ईख जस्तै बनेर बसेछ र अठोट लिएछन्–“म जसरी पनि एउटा असर र राम्रो सेफ बनेर देखाउँछु ।” र आज यो स्थानमा छन् तिनै युवा जसको जोश र जाँगर अझै मरेको छैन, अझै सफलताका खुड्किलाहरु बाँकी नै भएको उनको ठम्याई छ ।

यो पकाउने, बनाउने क्षेत्र नै त्यस्तै हो जहाँ कामको चाप सँधै नै रहिरहन्छ त्यही भएर पनि जोशिला व्यक्तिहरुको आवश्यकता पर्छ, जो काम गरेर कहिल्यै थाक्दैनन् । अन्य विभिन्न नन्स्किल जागिरमा नेपालीहरुको निकै ठूलो जमात भएता पनि कुलीनरी क्षेत्रमा गनेर गन्न सकिने नेपालीहरु भेटिन्छन् विदेशमा । झनै माथिल्लो तहमा पुग्ने र अरुलाई काममा खटाउने नेपालीको सख्ँया त यो क्षेत्रमा अत्यन्त कम छ, अझ भनौ भने एक्जुकुटिभ सेफ जस्तो पदमा त यहाँ धेरै जसो युरोपियन, अमेरिकनहरु नै ओगटिएका हुन्छन् । यस्तै भीडमा लाल तामाङ्ग भेटिनु हामी सम्पूर्ण नेपालीकै लागि गौरवको कुरा समेत हो ।
आफ्नो बैदेशिक रोजगारीको शिलशिला कतारको दोहामा रहेको सेराटन होटलबाट कमिक ३ सेफबाट शुरु गरेका लाल सन् २००० मा कमिक १ कुकमा दुवईको जुमेरा विच होटलमा छिरेका रहेछन् । दोहामा ईटालियन रेस्टुरेन्टमा काम गरेकाले उनलाई इटालियन रेस्टुरेन्टमै पदोन्नती भएर दुवई आउने सहज भएको रहेछ । जुमेरामा नियुक्त हुनासाथ लालले काम सिक्ने र प्रशस्त तालिम लिने अवसर पाएका रहेछन् । यो सँगै निरन्तर पदोन्नती पनि भइरहेछ । त्यही ग्रुप होटलमा रहँदा लालले प्रख्यात होटल ईमिरेट्स टावरमा सेफ दि पार्टिदेखि सुस सेफ, अर्को विश्व प्रशिद्घ होटल वुर्ज अल अरवमा सेफ दि कुजिन सक्म पदोन्नती भएर काम गरेका लाल बाब अल साम डिजर्ट रिसोर्टदेखि मैदान होटल सम्म लगभग १४ बर्ष सम्मको यात्रामा एक्जुकुटिभ सुस सेफसम्म भएछन् ।
होटलको एउटा बिभागमा सेकेण्ड ईञ्चार्जको रुपमा लामो समय काम गरिसकेपछि लालले सन् २०१३ मा कम्पनी परिवर्तन गरेर रोडा होटलमा सरेका रहेछन् सोही पदमा । होटल ओपनिङ्ग र मेनु ईन्जिनियरिङ्गमा राम्रो अनुभव भएका सेफ तामाङ्गले जुमेरा ग्रुपमा हँुदाका बखत प्रि ओपनिङ्ग टाक्सफोर्स टिममा रहेर काम गरेको र विभिन्न देशमा गएर आफ्नो अनुभव हाल्न र नयाँ अनुभव सँगाल्ने अवसर पाएको पनि सुनाए । त्यतिबेला उनी जुमेरा कार्टन टावर होटल लण्डनमा ६ महिना, जुमेरा हिमालय होटल चाइनामा ४ महिना, जुमेरा माल्दिभ्समा ४ महिना त्यसैगरी जुमेराकै मदिनात जुमेरा तथा जावेल सराय होटलमा समेत प्रि ओपनिङ्गमा काम गरेको लालको अनुभव रहेछ ।
सन् २०१३ मा उनि अहिले काम गर्ने होटलमा प्रवेश गर्दा होटलको नाम रोताना रहेछ, पछि परिवर्तन भएर रोडा बनेको रे । रोडा ब्राण्डका दुवईमा ९ वटा होटल छन् भने ३ वटा नयाँ होटल खुल्ने क्रममा रहेको पनि लालले हामीलाई सुनाउन भुलेनन् । उनले कार्यकारी प्रमुख भएर काम गरेको चाँहि जनवरी २०१७ बाट रहेछ । हाल उनको निर्देशनमा नौसय रुमसहितको रुम सर्भिस, ७ वटा आउटलेट रेस्टुरेन्ट, अथवा एकै शव्दमा भन्नुपर्दा सिँगै होटलको कुलिनरी विभाग चल्ने गरेको छ ।
जम्मा ७२ जना सेफ रहेको लालको टिममा ४२ जना त नेपाली सेफ नै रहेको खुसी पनि हामीले उनीबाटै सुन्यौं । जिम्मेवारी सँगै पाँच तारे होटलको स्टान्डर्ड राखिरहनु चानचुने कुरा हुँदै होइन । होटलमा आउने हरेक प्रकारका पाहुनाको फर्माइस सुन्नु, कम्प्लेन ह्याण्डल गर्नु त छँदै छ आफ्ना स्टाफलाई समेत समान रुपले अवसर र अधिकार दिनुपर्छ । यसै अनुरुप लालको दैनिकी पनि उत्तिकै व्यस्त रहेछ । विहान साढे ७ देखि ८ बजेको बीचमा अफिस आउने, आफ्नो डिपार्टमेन्टका बिभिन्न सेक्सनको रिपोर्ट लिने, व्यवस्थापनको मर्निङ्ग मिटिङ्गमा सहभागी हुने, आफ्नो दैनिक अपरेसन त छँदैछ, त्यसमार्थि दैनिक रुपमा आफ्ना सेक्सन ईञ्चार्जहरुलाई ब्रिफ्रिङ्ग दिनु, पाहुनाबाट आउने कम्प्लेन ह्याण्डल गर्नु यी सबै एक्जुकुटिभ सेफका दैनिकी हुन् ।
आफ्नो लगन, मेहनत र कामप्रतिको लगावले आज लाल तामाङ्ग दुवईमा मात्र प्रख्यात बनेका छैनन् उनी विश्वमाझ समेत चिनिँदैछन् । हालै भएको मिडिल इस्ट हस्पिटालिटि सेफ एक्सिलेन्स अवार्ड २०१८ मा ‘बेस्ट एक्जुकुटिभ सुस सेफ अफ द ईयर २०१८’ पाएर गोल्ड अवार्ड जितेका लाल आगामी अक्टोबरमा हुने बेस्ट एक्जुकुटिभ सेफको अवार्डका लागि पनि टप ७ को मनोनयनमा परिसकेका छन् । यसअघि पनि लालले आफ्नै व्यवसायिक प्रतिस्पर्धामा थुप्रै मेडल र अवार्ड हात पारिसकेका रहेछन् ।
आज पनि सही लक्ष्य लिएर अगाडि बढ्न नसक्दा थुप्रै युवा शक्तिले बाटो बिराएको बताउने तामाङ्ग सकारात्मक इख बोकेर अगाडि बढे लक्ष्य प्राप्त गर्न सकिने बताउँछन् । “म यो समयसम्म निश्चित लक्ष्य प्राप्त गरिसक्छु भनेर जहिले पनि २ स्टेप माथिको उद्देश्य लिनुपर्छ।”–लाल भन्छन् ।
जसरी होटल म्यानेजमेन्ट पढ्दै गर्दा उनको लक्ष्य एउटा वेटर बन्ने थिएछ, पछि सोल्टि होटलमा भेटिएका भारतीय सेफले भनेको एउटा वचनले लाललाई एउटा ईख दियो र आज एक सफल सेफ बन्न सके । आजको दिनमा सिप र अनुभवसँगै शिक्षाको पनि उत्तिकै आवश्यकता भएको हुनाले कुलिनरीमा भविष्य खोज्ने जो कोहीले पनि होटल म्यानेजमेन्टको कोर्ष गरेर अगाडि बढे राम्रो हुने लालको सुझाव छ । शिक्षासँगै सफलताका लागि धैर्यता, सकारात्मक सोच र सबैसँग घुलमिल हुनसक्ने क्षमता हुनुपर्ने भनाई राख्ने लाललाई हामीले वेटर बन्छु भन्ने मान्छे एक्जुकुटिभ सेफ बन्नु भयो अब त सफल भएँ भन्ने लाग्छ होला नि ? भन्ने प्रश्न गर्यौं । बिजशालालाई जवाफ दिँदै लालले केही हिसाबमा सफल भएता पनि संघर्ष नछोडेको बताए । उनलाई अब आफ्नो अनुभव र दक्षतालाई टेक्दै एउटा क्लस्टर सेफ बन्ने धोको रहेछ । “त्यसपछि त देश पनि हेर्नु छ आफू सफल भए पनि पर्यटनको क्षेत्रमा देशमै आफ्नो अनुभव सदुपयोग गर्नेछु ।”–तामाङ्गले भने ।
नेपालको पर्यटन उद्योग सुधार्न के गनुपर्ला ?हाम्रो यो प्रश्नमा उनले विमानस्थल र विमानहरुको स्तरउन्नति गर्न आवश्यक रहेको जवाफ फर्काए । विश्व बजारमा भएका होटलहरुमा जस्तै नेपालका होटलहरुमा पनि फुड हाईजिनमा ध्यान दिनुपर्ने तामाङ्गको भनाई थियो ।
त्यसो त नेपाल आएका पर्यटकहरुलाई इटालियन, चाईनिज, फ्रेञ्चभन्दा पनि नेपाली खानाको स्वाद चखाउनुपर्ने आवश्यकता पनि तामाङ्गले औंल्याए । उनका अनुसार नेपालमा आउने पर्यटकले अरु कुनै देशको खाना भन्दा पनि नेपाली खानाको स्वाद चाख्न चाहान्छन् । लालकै पहलमा उनी कार्यरत होटलमा हरेक बर्षको नोभेम्बर महिनाभर नेपाली खानाको कोर्ष थप गर्ने गरेका रहेछन् ।
गत बर्षदेखि सुरु गरिएको यो कोर्षले गत बर्ष नै अरु भन्दा धेरै बिक्री भएर रेकर्ड राख्न सफल भएको मिठो यथार्थ पनि हामीलाई उनले हर्षित मुद्रामै सुनाउन भ्याए । नेपाली खानालाई विश्वमाझ चिनाउने यो ठूलो माध्यम भएको लाल बताउँछन् । उनकाअनुसार एक असल सेफले नेपालीहरुले दैनिक खाने खानालाई केही मोडिफाई गरेर झनै आकर्षक शैलीमा पाहुनालाई प्रस्तुत गर्न सक्छ ।
त्यसो त उनकै सँलग्नतामा युएईमा रहेका नेपाली सेफहरुको एउटा समूह एक जुट भएर ‘नेपाली सेफ सोसाईटी युएई’ नामक सँस्थाको समेत परिकल्पना गरिएको रहेछ । सँघ सस्था र ट्रेड युनियन खोल्न प्रतिबन्धित रहेको देशमा किन सेफ सोसाईटी त ? उनले नेपाली खानालाई विश्वमाझ चिनाउन नै विभिन्न होटलमा काम गर्ने सेफहरुले आ–आफ्नो ठाउँबाट पहल गर्न सोसाईटीको आवश्यकता महशुस गरिएको बताए ।
लामो भलाकुसारीमा हाहीले केही देशका बारेमा पनि कुरा गर्यौं । झण्डै १९ बर्षदेखि खाडीमै रहेका लाल तामाङ्ग देश गरिब भएको मान्न तयार छैनन् । “हामी प्राकृतिक छटाले भरिपूर्ण छौ, अनि पछाडि फर्केर हेर्ने हो भने हामी धेरै धनी भएका छौं।’’ तामाङ्ग भन्छन् ।
नेपाल खासै अविकसित पनि होइन विकास पनि भइनै रहेको छ उनको बुझाईमा । अझ विकासका कुरामा एकरुपता दिने र यो मेरै हो भन्ने सोच राख्ने हो भने चाँडै देशले मुहार फेर्ने लालको बुझाई थियो ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19