काठमाण्डौ । हजारौँ इजरायलीहरु त्यहाँ भएको एउटा ठूलो प्रदर्शनमा सहभागी भएका छन्। उक्त प्रदर्शनलाई केहीले इजरायलको इतिहासकै सबैभन्दा ठूलो विरोध भनेका छन्।
न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारी योजनाको विरोधमा विगत १० सातादेखि त्यहाँ प्रदर्शन भइरहेको छ।
हाइफा जस्ता सहरमा प्रदर्शनकारी अहिलेसम्मकै उच्च संख्यामा घरबाट बाहिर निस्किएर विरोध प्रदर्शनमा सामेल भएका छन्। तेल अभिभमा करिब दुई लाख मानिसहरु सडकमा निस्किएर विरोध प्रदर्शनमा सामेल भएको विश्वास गरिएको छ।
सरकारी सुधारको प्रस्तावका आलोचकले ती परिवर्तनले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्। तर, बेन्जमिन नेतन्याहुको सरकारले योजनाबद्ध रुपमा अघि सारिएको परिवर्तन मतदाताका लागि अझ राम्रो कुरा भएको दाबी गरेको छ।
आयोजकले बताएअनुसार शनिबार देशव्यापी रुपमा करिब पाँच लाख लोकतन्त्र समर्थक प्रदर्शनकारी सडकमा उत्रिएका थिए। उक्त प्रदर्शनलाई इजरायली अखबार हरेट्जले ‘देशको इतिहासमै सबैभन्दा ठूलो प्रदर्शन’ भनेको छ।
विपक्षी नेता याएर लपिडले दक्षिणी सहर बेएर शेवामा प्रदर्शनकारीलाई सम्बोधन गर्दै देशले ‘इतिहासमा सबैभन्दा ठूलो संकट’ सामना गरिरहेको बताए। उनले भने, ‘आतंकवादको लहरले हामीलाई प्रहार गरिरहेको छ, हाम्रो अर्थतन्त्र ध्वस्त भएको छ, देशबाट पैसा पलायन भइरहेको छ। इरानले हिजो मात्रै साउदी अरेबियासँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ। तर यो सरकारको ध्यान इजरायली प्रजातन्त्रलाई कुचल्नेमा मात्र छ।’
तेल अभिभका एकजना प्रदर्शनकारी तामिर गुयत्साब्रीले रोयटर्स समाचार संस्थालाई भनेका छन्, ‘यो न्यायिक सुधार होइन। यो एउटा क्रान्ति हो– जसले इजरायललाई पूर्ण तानाशाहीतन्त्रमा लान्छ र म मेरा सन्तानका लागि इजरायलमा लोकतन्त्र रहोस् भन्ने चाहन्छु।’
न्याय प्रणालीसँग सम्बन्धित प्रस्तावित सुधार के हुन् ?
प्रदर्शनकारी के चाहन्छन् ?
सडकमा उत्रिएका हजारौँ मानिसहरु न्यायिक सुधारको विरोधमा छन्। प्रस्तावित सुधारमा निर्वाचित सरकारलाई न्यायाधीशहरुको छनोटमा निर्णायक प्रभाव पार्ने अवसर दिइएको छ।
त्यस्तै कार्यपालिकाविरुद्ध सर्वोच्च अदालतमा हुनसक्ने फैसलालाई प्रभावित गर्ने प्रावधानहरु त्यसमा राखिएको बताइएको छ। यो विषयले इजरायली समाजलाई गहिरो रुपमा विभाजित गरिदिएको छ।
विशेषगरी इरजलेली ‘रिजर्भिस्ट’हरुले सैन्य सेवा नगर्ने धम्की दिएको देखिएको छ। इजरायलमा सैन्य सेवा दिन तयार अवस्थामा बस्ने आम नागरिकहरुलाई ‘रिजर्भिस्ट’ भन्ने गरिन्छ। सोमवार एउटा अभूतपूर्व घटनाका रुपमा इजरायली वायुसेना स्क्वाड्रनका दर्जनौँ ‘रिजर्भ’ लडाकु पाइलटले प्रशिक्षणका लागि आफूहरु नजाने बताएका थिए। तर, पछि उनीहरु उपस्थित हुन र आफ्ना कमाण्डरसँग वार्ता गर्न सहमत भए।
नेतन्याहुलाई रोक्ने प्रयास
बिहीवार प्रदर्शनकारीले सडक अवरुद्ध गरे र नेतन्याहुलाई देशबाहिर हवाई यात्रा गर्न नदिनका लागि रोक्ने प्रयास गरे। तर, पछि उनी इटलीको रोमको लागि प्रस्थान गरे। आन्दोलनलाई विपक्षीले बल दिएको दाबी गर्दै सरकार विरोध हुँदा पनि आफ्नो निर्णयमा अडिग देखिएको छ। तर, आलोचकहरु प्रस्ताविध सुधारले न्यायपालिकालाई राजनीतिकरण गर्ने र सरकारलाई अधिनायकवादी बनाउनसक्ने बताउँछन्।
नेतन्याहुले चाहिँ अदालतलाई आफ्नो शक्तिको अति प्रयोग गर्ने अवस्थाबाट रोक्नका लागि सुधार प्रस्ताव गरिएको बताएका छन्। –बीबीसीबाट
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19