काठमाण्डौ । एउटा अनलाइन गेमिङ कम्पनीसँग सम्बन्धित ६१.५ करोड डलरको क्रिप्टोकरेन्सी चोरी प्रकरणमा उत्तर कोरियाली ह्याकरहरुको संलग्नता रहेको अमेरिकाले दाबी गरेको छ। 

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार गत मार्चमा ‘एक्सी इन्फिनिटी’ नामक लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलो झट्का लागेको थियो। यो कम्पनीले आफ्ना ग्राहकलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी कमाउने अवसर दिन्छ।

अमेरिकी अधिकारीहरुका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा यो सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको ‘लाजरस’ समूह संलग्नता रहेको छ । यो समूह उत्तर कोरियाको इन्टेलिजेन्स ब्युरोले सञ्चालन गरेको ती अधिकारीहरुको दाबी छ। 

एफबीआईले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो अनुसन्धानमा हामीले लाजरस समूह र एपीटी ३८ का साइबर आक्रमणकारीहरु यस चोरीका लागि जिम्मेवार रहेको पायौँ।’

लाजरस समूह सन् २०१४ मा चर्चामा आएको थियो । त्यतिबेला सोनी पिक्चर्स ह्याक गरेको र यसको गोप्य डाटा सार्वजनिक गरेको आरोप यो समूहमाथि लगाइएको थियो। 

उक्त समूहले सोनीलाई आफ्नो आगामी फिल्म ‘द इन्टरभ्यु’ रिलिज नगर्न आग्रह गरेको थियो । त्यो कमेडी फिल्म उत्तर कोरियाका शासक किम जोङ उनको हत्या गर्ने षड्यन्त्रका साथ बनाइएको दाबी गरिएको थियो। –एजेन्सी