काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंकसँग खरीद सम्झौतासँगै आक्रामक पूँजी वृद्धिको योजना सार्वजनिक गरेको छ । 

बैंकले आइतबार लाजिम्पाटस्थित होटल र्याडिसनमा एक समारोहका बीच इनोभेटिभ डेभलपमेन्ट बैंकलाई खरीद गर्ने सम्झौतासँगै चालु महिनाभित्रै चुक्तापूँजीमा १ अर्ब थप गर्ने आक्रामक योजना सार्वजनिक गरेको हो । 

आइतबार सेञ्चुरी बैंकका संचालक समिति अध्यक्ष राजेशकुमार श्रेष्ठ र भैरहवा केन्द्रीय कार्यालय रहेको इनोभेटिभ डेभलपमेन्ट बैंक संचालक समितिका अध्यक्ष देवेन्द्रबहादुर राउतले एक्वीजिसन(खरीद) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

इनोभेटिभलाई एक्वीजिसन गर्ने सहमति छोटो समयमै बनेको र यसपछि सेञ्चुरीले राष्ट्रबैंकको पूँजीवृद्धिको योजनाअनुसार ०७४ असार मसान्तसम्म ८ अर्ब पुर्याउने उद्देश्यले आक्रामक रुपमा पूँजी वृद्धिको योजनाका साथ अगाडि बढ्ने संचालक समिति अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार हाल सेञ्चुरी बैंकको चुक्तापूँजी २ अर्ब ८५ करोड रुपैयाँ छ । असारभित्रै ३० प्रतिशत हकप्रद आउदैछ । यो प्रक्रियाबाट बैंकको चुक्तापूँजीमा ८५ करोड थपिनेछ । यसैगरी, इनोभेटिभ डेभलपमेन्ट बैंकको चुक्तापूँजी लाभांश घोषणापछिको समेत जोडी ३५ करोड बढी हुनेछ । यसरी एक्वीजिसन र हकप्रदबाट आउने पूँजी बाहेक असारभित्रै बाँकी ७० करोड पूँजी समेत वृद्धि गर्ने योजना सार्वजनिक गरिएको हो । ‘हामी अन्य संस्थाहरुसँग समेत छलफलमा छौ ।’ सेञ्चुरीका अध्यक्ष श्रेष्ठले भने–‘हाम्रो जोड फेरि पनि कुनै संस्था खरीद गर्नमै हुनेछ र असारभित्र फेरि कुनै संस्थालाई एक्वायर गरेर यो बाटोबाट मात्र १ अर्ब पूँजी थप्नेछौ ।’ हाल सेञ्चुरी बैंकको कुल निक्षेप २६ अर्ब १ करोड छ भने कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अवधिमा सेञ्चुरील ३४ करोड ५० लाख संचालन नाफा आर्जन गरेको छ । यो बैंकका हाल देशभर ३१ वटा शाखा, २९ वटा एटीएम, ८ वटा शाखारहित बैकिङ र ३ वटा एक्सटेन्सन काउन्टर सेवा रहेका छन् । 

सेञ्चुरीसँग समाहित हुने सम्झौता गरेको इनोभेटिभ डेभलपमेन्ट बैंकको चालु आबको चैत मसान्तसम्मको अवधिमा २९ करोड ५ लाख चुक्तापूँजी छ । उसले बोनस सेयरबाट यसलाई केही समयमै ३५ करोड बढी पुर्याउनेछ । यो बैंकले २ अर्ब १९ करोड निक्षेप संकलन गरेको छ भने १ अर्ब ७५ करोड कर्जा परिचालन गरेको छ । बैंकले ५ करोड २० लाख संचालन मुनाफा आर्जन गरेको छ । बैंकको भैरहवा र आसपासका जिल्लामा ९ वटा शाखा कार्यालयहरु संचालनमा छन् । सेञ्चुरीमा ३ सय १८ र इनोभेटिमा ५८ कर्मचारी कार्यरत छन् । 

दुई बैंकबीच सेयर स्वाप रेसियोको बिषयमा प्रारम्भिक सहमति समेत भएको छ । सो सहमति अनुसार १०० : ७६ रुपैयाँमा कुरा मिलेको छ । डीडीएको क्रममा यो अनुपातमा १० अंकको घटबढलाई दुवै पक्षले मान्ने सहमति समेत बनेको छ ।

कार्यक्रममा बताइएअनुसार दुई बैंकबीच सेयर स्वाप रेसियोको बिषयमा प्रारम्भिक सहमति समेत भएको छ । सो सहमति अनुसार १०० : ७६ रुपैयाँमा कुरा मिलेको छ । डीडीएको क्रममा यो अनुपातमा १० अंकको घटबढलाई दुवै पक्षले मान्ने सहमति समेत बनेको छ । ‘मर्जर वा एक्वीजिसनमा मिल्न नसक्ने सबै कुराहरुमा समझदारी गरेर हामी अगाडि बढेका छौ ।’ इनोभेटिक डेभलपमेन्ट बैंकको संचालक समितिका अध्यक्ष राउतले भने–‘अनेक व्यक्ति र समूहको स्वार्थ हाबी हुँदा मर्जर र एक्वीजिसन साच्चिकै जटिल बन्दै गएको छ, तर हामीले छोटो समयमै सबै कुरामा खुला छलफल गरी यो उपलब्धि हासिल गर्यौ ।’ उनका अनुसार आफूले २ वर्षदेखि विभिन्न संस्थासँग धेरै प्रयास गर्दा समेत कुरा मिल्न नसकिरहेको अवस्थामा सेञ्चुरीसँग छलफल बढाएको छोटो समयमै कुरा मिलेको समेत सुनाए । ‘निस्वार्थी भएर लाग्ने हो भने जटिल जस्तो देखिने मर्जर वा एक्वीजिसन निकै सजिलो पनि छ ।’–उनले थपे । 

सेञ्चुरीका अध्यक्ष श्रेष्ठका अनुसार बैंकले प्राप्ति सम्बन्धी कार्य सकी २०७३ पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने लक्ष्य लिएको छ । उनले समेत एमओयू हस्ताक्षर कार्यक्रममा बोल्दै मर्जर वा एक्वीजिसनको पार्टनर भेट्न निकै गाह्रो पर्ने अनुभव सुनाए । ‘धेरै व्यक्ति र समूहको स्वार्थ हाबी हुन खोज्दो रहेछ ।’ उनले थपे–‘त्यस्ता स्वार्थको गञ्जागोलमा बैंकहरुको इगो समेत जोडिँदा भइरहेका मर्जर पनि टुटेका देखियो ।’ उनले राष्ट्रबैंकको पूँजी वृद्धि योजनाको खुलेर प्रशंसा गदैं भने–‘ठूला योजना निर्माण हुन थाले पनि नेपालका अहिलेका बैंकहरुको पूँजीले भ्याउदैन, अझै अभाव छ ।’ 

एक्वीजिसनमा भएको समझदारी सार्वजनिक कार्यक्रमको थप फोटो हेर्न तल डबल क्लिक गर्नुहोस् ।