काठमाण्डौ । इन्टरनेटको युगमा हरेक दिन साइबर अपराध भइरहेका छन्। साइबर अपराधीहरुले मानिसलाई ठगी गर्न लगातार नयाँ–नयाँ चालहरु चलिरहेका छन्। 

साइबर संसारमा केही यस्ता अपराध पनि भएका छन्, जसले संसारलाई हल्लाएको छ। यहाँ हामी अनलाइन ठगी र ई–मेलसँग सम्बन्धित केही यस्ता अपराधबारे चर्चा गर्नेछौँ।

बिजनेस ई–मेल स्क्याम

बिजनेस ई–मेल स्क्याम वा ई–मेल अकाउन्ट कम्प्रोमाइजका कारण मानिसहरूले वर्ष २०२१ मा मात्रै २.४ अर्ब डलर गुमाएका छन्। यो साइबर अपराधको डरलाग्दो घोटाला हो। जसमा बिजनेस र व्यक्तिगत दुवै खाले अकाउन्टलाई निशाना बनाइएको थियो। ती अकाउन्ट जसबाट फन्ड ट्रान्सफर गर्न प्रयोग हुन्थे, तिनलाई साइबर आक्रमणकारीले निशाना बनाएका छन्। 

कति भयो क्षति ? 

सन् २०२१ मा अमेरिकामा सबैभन्दा धेरै यस्ता घोटाला भएका छन्। एफबीआईको प्रतिवेदनअनुसार गत वर्ष साइबर अपराधमा उल्लेख्य वृद्धि भएको छ। एजेन्सीका अनुसार सन् २०२१ मा बिजनेस र व्यक्तिगत ई–मेल घोटालामा मानिसले २.४ अर्ब डलर गुमाएका छन्। जसमध्ये ५९ प्रतिशत अमेरिका, ३८ प्रतिशत बेलायत र ३ प्रतिशत अन्य ठाउँमा रहेका छन्।

कसरी मानिसहरु फस्छन् ? 

घोटालाका लागि ह्याकरहरुले स्पुफिङ वा पर्सनल ई–मेल खाता प्रयोग गरिसकेका छन्। अब उनीहरुले ह्याकिङका लागि भर्चुअल मिटिङ प्लेटफर्म प्रयोग गरिरहेका छन्। यसमार्फत तिनीहरुले बिजनेस लिडर्सका महत्वपूर्ण विवरणहरु चोर्छन् र फ्रड वायर्ड ट्रान्सफर गर्छन्। यी फ्रड वायर्ड ट्रान्सफर तत्कालै क्रिप्टोकरेन्सी वालेटमा ट्रान्सफर गरिन्छ। जसका कारण रिकभरी हुन मुस्किल हुन जान्छ। 

लगानीको नाममा मूर्ख बनाउँदै

यस्तै अर्को साइबर अपराध भनेको लगानी घोटाला हो। यस्ता धेरै घोटाला पनि बाहिर आएका छन्। जसमा प्रयोगकर्ताहरुलाई लगानीका लागि गलत जानकारी दिइन्छ। यस प्रकारका घोटालामा प्रयोगकर्तालाई कम जोखिममा उच्च प्रतिफलको प्रलोभन दिइन्छ। सेवानिवृत्त, ४०१के, पोन्जी र पेरामिड यस्ता घोटालाहरु हुन्। –एजेन्सी