काठमाण्डौ । भारतीय हवाई विमान कम्पनी इन्डीगोले सिट छनौट शुल्क वृद्धि गरेको छ । 

कम्पनीले २२२ सिट भएको ए३२१ विमानको फ्रन्ट विन्डो सिट वा आइल सिट छनौट गर्दा भाडामा थप भारु २ हजार अतिरिक्त शुल्कको व्यवस्था गरेको छ । त्यहि लाइनको मिडिल सिटका लागि पनि कम्पनीले भाडा १ हजार ५०० भारु थप शुल्क तिनुपर्ने जनाएको छ । 

त्यस्तै दोस्रो र तेस्रो लाइनका सबै सिटको छनौटमा पनि भारु ४०० थप गरिएको कम्पनीले जनाएको छ । २३२ सिटवाला ए३२१ विमान र १८० सिटवाला ए३२० विमानको शुल्क समान छ । गत जनवरी ४ देखि कम्पनीले फ्युल सरचार्ज हटाउने घोषणा गरेको थियो । जसका कारण कम्पनीले सिट सेलेक्सन फिसमा ठूलो परिवर्तन गरेको हो ।

सन् २०२३ अक्टोबरको सुरुवातदेखि कम्पनीले बढ्दो हवाई इन्धनको मूल्यसँगै कम्पनीले इन्धन शुल्क लिन शुरु गरेको थियो । यसका लागि इन्धन शुल्कका रुपमा ३०० भारु देखि १ हजार भारुसम्म लिइएको थियो । 

इन्डीगोले आफ्ना ग्राहकहरुलाई रोजाइको सिटका लागि रिजर्वेशन अप्सन दिने गरेको जनाएको छ । यात्रुहरुले विन्डो सिट,आइल सिट वा अतिरिक्त लेगरुम सिट छनौट गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ । यदि यात्रुले आफ्नो रोजाईको सिट खरिद गर्न चाहदैन भने उपलब्ध फ्री सिट चयन गर्न सक्ने वा विमानस्थलमा चेक–इनको समयमा दिइएको सिट पाइने कम्पनीले स्पष्ट पारेको छ । यस्तो गर्दा भने अतिरिक्त शुल्क नतिर्नु पर्ने कम्पनीले जनाएको छ । 

इन्डीगोसँग ३२० भन्दा बढी विमान छन् । कम्पनीले दैनिक १ हजार ९०० उडान भर्ने गर्छ । कम्पनीले ८१ वटा घरेलु र ३२ वटा अन्तराष्ट्रिय गन्तव्यमा उडान भर्दै आईरहेको छ । भारतको हवाई उड्ययन क्षेत्रमा सबैभन्दा धेरै हिस्सा इन्डीगोले ओगटेको छ । -एजेन्सी