काठमाण्डौ । युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी सन् २०२१ जनवरी १ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ।  

कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्याप्त सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो। 

ईसीबीले यसअघि पनि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो। यो निर्णय आगामी अक्टोबर २०२० सम्मका लागि जारी गरिएको थियो।

ईसीबीले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोनाकालमा बैंकहरुमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश वितरण रोक्नु परेको उल्लेख छ। - रासस/एएफपी