न्युयोर्क । अनलाइन बुक स्टोरबाट सुरुआत गरेको अमेजनले गत जुलाई ५ मा आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ ।

घरको ग्यारेजबाट सुरु भएको अमेजन २५ वर्षमा एक लाख करोड डलर भ्यालुएसन भएको विश्वको दोस्रो सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । यसको संस्थापक जेफ बेजोस भने विश्वको सबैभन्दा धनी व्यक्ति छन् ।

सन् १९९४ जुलाई ५ मा तीनजनाबाट सुरु भएको अमेजन आज साढे ६ लाख कर्मचारी नियुक्त गर्ने अमेरिकाको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी बनेको छ । सन् १९९७ मा जब पहिलोपटक कम्पनी पब्लिक बन्यो तब यसको प्रतिसेयर १.९६ डलर भएको थियो । आज ९९१ गुना वृद्धि भएर अमेजको प्रतिसेयर १ हजार ९४२.९१ डलर पुगेको छ ।

अमेजनको प्लेटफर्ममा सामान बेच्नेहरु २५ हजारभन्दा बढी बिक्रेताहरु अहिले करोडपति बनेका छन् । अमेजन अहिले ई–कमर्स, इन्टरनेट, क्लाउड कम्प्युटिङ, भिडियो स्ट्रिमिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विश्वमा सबैभन्दा बढी कम्पनीमध्ये एक हो ।

टाइम म्यागजिनले १९९९ मा जेफ बेजोसलाई पर्सन अफ द इयर र द किङ अफ साइबर कमर्सको उपाधि दिएको थियो । ३५ वर्षको उमेर यो पुरस्कार पाने बेजोस चौथो सबैभन्दा कम उमेरका युवा बनेका थिए ।

बेजोस ग्राहको सन्तुष्टिको मूलमन्त्रलाई आत्मसाथ गर्दै लगातार काम गरिरहेका छन् । यही मूलमन्त्रलाई कार्यान्वयन गर्न उनले थुप्रै नयाँ प्रयोग पनि गरिसकेका छन् । सन् २००५ मा बेजोस अमेजन प्राइम मेम्बरसिप लिएर आफ्नो कम्पनीलाई नयाँ उचाइमा पुर्याएका छन् । – एजेन्सी