नयाँदिल्ली । भारतको केन्द्रीय मन्त्रिपरिषद् बैठकले ठूलो निर्णय गरेको छ । अब प्रधानमन्त्री उज्ज्वला योजनामा ​​अनुदान बढाइएको छ। अनुदान दुई सयबाट बढाएर तीन सय पु¥याइएको छ । 

केन्द्र सरकारको मन्त्रिपरिषद्को बैठक बुधबार बसेको हो । बैठकमा सरकारले प्रधानमन्त्री उज्ज्वला योजनाका लाभार्थीलाई दिइने अनुदान रकम बढाउने निर्णय गरेको छ । 

केन्द्र सरकारले एलपीजी सिलिन्डरमा १०० भारु थप अनुदान दिने घोषणा गरेको हो। गत अगस्टको अन्त्यमा दिल्लीमा सर्वसाधारण ग्राहकले घरेलु सिलिन्डर ११०३ भारुमा पाएका थिए । त्यसपछि सरकारले यसमा ठूलो कटौती गर्दै २ सय भारु सस्तो गरेको र सिलिन्डरको मूल्य ९०३ रुपैयाँ पुगेको थियो । 

उज्ज्वला योजना अन्तर्गत आउने ग्राहकले घरेलु सिलिन्डर ७०३ भारुमै पाउँदै आएका छन् । नयाँ कटौतीपछि अब सिलिन्डरको मूल्य भारु ६०३ मा सीमित बनेको छ । यो भनेको नेपाली ९६५ रुपैयाँ मात्र हो । हाल नेपालमा उपभोक्ताले प्रतिसिलिण्डर ग्यासको १८९५ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । यो मूल्य केही दिनअघि अझै बढाएर २१०० रुपैयाँ भन्दा माथि पुर्याइएको थियो । जनदवाबपछि घटाएर पुरानै कायम गरिएको छ । 

उज्ज्वला योजनाका लाभार्थीहरूले यो लाभ पाउनेछन्। यसरी अहिले सिलिन्डरको मूल्य भारु ६०३ पुगेको छ । अहिलेसम्म सरकारले उज्ज्वला योजनाका लाभार्थीलाई ग्यास सिलिन्डरमा २ सय रुपैयाँ अनुदान दिँदै आएको थियो । अब भने एक सय  बढेको हो । योसँगै कुल नयाँ अनुदान तीन सय पुगेको छ ।

ग्यास र चुलो निःशुल्क
उज्ज्वला योजना प्रधानमन्त्री नरेन्द्र मोदीले मे २०१६ मा सुरु गरेका थिए। योजनाका लाभार्थीहरूलाई पहिलो पटक निःशुल्क ग्यास सिलिन्डर र ग्यास चुलो उपलब्ध गराइएको छ । 

केन्द्रीय मन्त्री अनुराग ठाकुरले पत्रकारहरुसँग कुरा गर्दै विश्वभरका एजेन्सीहरूले उज्ज्वला योजनाको प्रशंसा गरेका बताए । यसले महिलाको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको उनको दाबी छ । 

यस योजना अन्तर्गत हालसम्म ९ करोड ६० लाख ग्यास जडान र वितरण भइसकेको छ । आगामी तीन आर्थिक वर्षमा ७५ लाख थप जडान गरिने सरकारको योजना छ । यसबाट गरिब परिवार लाभान्वित हुनेछन् । 

पहिलो रिफिल र स्टोभ निःशुल्क दिइन्छ। तेल मार्केटिङ कम्पनीहरूले यसको खर्च वहन गर्छन्।

केन्द्रीय मन्त्री अनुराग ठाकुरले प्रधानमन्त्री उज्ज्वला योजनाका लाभार्थीहरूका लागि अनुदान रकम बढाउने बारेमा जानकारी दिए। 

ग्रामीण र विपन्न परिवारहरूलाई एलपीजी ग्यास सिलिन्डर उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री उज्ज्वला योजना सुरु गरिएको थियो। यो योजनाबाट करोडौं जनता लाभान्वित भएका छन् । 

केही वर्षअघिसम्म भारतमा ठूलो जनसंख्याले खाना पकाउन कोइला, काठ, गाईको गोबर आदि जस्ता इन्धनहरू प्रयोग गर्थे। अहिले सरकारको प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गत उनीहरुलाई ग्यास सिलिन्डर र चुलो उपलब्ध गराइँदैछ ।