काठमाण्डौ । दक्षिण कोरियाको पप ब्याण्ड बिटीएससँग जोडिएको बिग हिट इन्टरटेनमेन्ट कम्पनीको दक्षिण कोरियाली सेयर बजारमा पछिल्लो तीन वर्ष यताकै सबैभन्दा ठूलो आईपीओ लिस्टीङ भएसँगै ब्याण्डका सबै सात जना सदस्यहरु अर्बपति बनेका छन् । 

बिग हिट इन्टरटेन्मेन्टले १ लाख ३५ हजार वोन(११५ डलर)प्रति कित्ता मूल्य भएको सेयर जारी गर्न लागेको जनाएको छ । 

कम्पनीका अनुसार यो आईपीओबाट ९६२.५५ मिलियन वोन(८२२ मिलियन डलर) रकम सर्वसाधारणबाट उठाइनेछ र यसबाट कम्पनीको मूल्य ४.१ बिलियन डलर पुग्नेछ । दक्षिण कोरियाली सेयर बजारमा यो आईपीओ सन् २०१७ यताकै सबैभन्दा ठूलो हुनेछ ।

बिग हिट इन्टरटेनमेन्ट कम्पनी सीईओ ब्याङ सि–ह्युकबाट सञ्चालित छ । ह्युक लामो सयमदेखि म्युजिक प्रोड्युसरको रुपमा कार्यरत छन् र बिटिएस स्थापना गर्न र यसलाई सन् २०१३ मा स्टारडमको बाटोमा अग्रसर गराउन उनको योगदान रहेको छ । सेयर सूचिकरणका अनुसार ब्याङले बिग हिटमा ४३ प्रतिशत स्वामित्व ओगटेका छन् । यो आईपीओले ब्याङलाई खर्बपति बनाएको छ । 

गत अगस्ट महिनामा ब्याङले बिटीयस ब्याण्डका प्रत्येक सदस्यहरुलाई ६८ हजार ३८५ कित्ता सेयर प्रदान गरेका थिए । अहिले प्रत्येक होल्डीङको निष्कासन मूल्य करीब ७.९ मिलियन डलर पुगेको छ । आउँदो अक्टोबर १५ बाट कम्पनीको सेयर कारोबारमा आउनेछ। 

बिग हिटको संस्थापक र बिटीएसको भाग्य बदल्नुका साथै कम्पनीको आईपीओले रिटेल लगानीकर्ताहरुलाई बिटल्स(चर्चित म्युजिक ब्याण्ड) जत्तिकै सफल मानिएको सात सदस्यीय समूहसँग जोडिने अवसर समेत प्रदान गरेको छ । 

बिटिएस समूह पश्चिमी बजारहरुमा चर्चित भएको सीमित ‘के–पप’(कोरिया पप) ब्याण्डहरुमध्य एक हो । गत वर्ष बिटीयस , बिलबोर्ड २०० चार्टमा बितेको ५० वर्षको अवधिमा बिटल्स र मंकिज् पछि थ्रि नम्बर वान एल्बम्स भएको तेस्रो गुप्र बनेको थियो । 

ब्याण्डको सफलताले बिग हिट इन्टरटेन्मेन्टलाई सेयर बजारको दुनियाँमा धमाकेदार प्रवेश गर्न सहयोग पुर्याएको छ । बिग हिटका अनुसार गत वर्ष ब्याण्डले कम्पनीमा करीब ५०० मिलियन डलरको आम्दानी र ८४ मिलियन डलरको खुद मुनाफा भित्र्याएको थियो । 

तर यसको अगाडि व्यावसायिक जोखिमहरु देखिएको छ । जस्तै कोरोना महामारीको कारण उत्पन्न मन्दिले कन्सर्टहरु रद्द हुनुका साथै उपभोक्ताको खर्च गर्नसक्ने क्षमता घटाइदिएको छ । जसको प्रत्यक्ष घाटा कम्पनीलाई पर्ने देखिन्छ । कोरोना महामारीका कारण कन्सर्टहरु रद्द भएकाले यो वर्षको पहिलो ६ महिनाको अवधिमा कम्पनीको बिक्री ८ प्रतिशतले घटेको छ । 

गत वर्ष कम्पनीले बिटीएसबाट कुल आम्दानीको ९७ प्रतिशत हिस्सा प्राप्त गरेको थियो । बिटीएससँग कम्पनीको सम्झौता सन् २०२४ को अन्त्यसम्म रहनेछ । 

बिग हिटका अनुसार बिटीएसले वर्षको आफ्नो दोस्रो एल्बम आउँदो नोभेम्बरमा रिलिज गर्नेछ । बिटीएसले आफ्नो पहिलो पूर्ण अंग्रेजी गीत ‘डाइनामाइट’ गत अगस्ट महिनामा सार्वजनिक गरेको थियो । यो गीतले २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिएको रेकर्ड तोडेको थियो । २४ घण्टाको अवधिमा यो गितले १० करोड ४४ लाख भ्यु पाएको थियो।

-सिएनएनबाट