काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो लगानीकर्ता वारेन बफेट आज ९३ वर्षका भएका छन्। उनको जन्म ३० अगस्ट १९३० मा अमेरिकाको नेब्रास्कामा भएको थियो। उनले ११ वर्षको उमेरमा पहिलो सेयर किने र १३ वर्षको उमेरमा पहिलो कर तिरेका थिए। 

त्यसो त एउटा रिजेक्सनले वारेन बफेटको जिन्दगीमा ठूलो परिवर्तन भएको खुलेको छ। 

गर्मीको मौसम थियो। नेब्रास्का विश्वविद्यालयबाट स्नातक गरेपछि वारेन बफेटले हार्वर्ड बिजनेस स्कुलमा भर्नाका लागि आवेदन दिए। उनलाई अन्तर्वार्ता सिकागोनजिकैको स्थानमा हुने बताइएको थियो। करिब १० मिनेटसम्म चलेको अन्तर्वार्ताका लागि उनी गएका थिए। उनलाई भनियो, ‘बिर्सिदेऊ... तिमी हार्वर्ड जान सक्दैनौँ।’ 

वारेन बफेटलाई निकै रिश उठ्यो र सोचे कि बुवालाई के जवाफ दिने ? तर, यो रिजेक्सनले उनको जीवन ठूलो परिवर्तन गर्यो। रिजेक्सनपछि उनले अर्को विश्वविद्यालयमा भर्ना हुने सोच्न थाले। त्यसपछि कोलम्बिया बिजनेस स्कुलको क्याटलग हेर्दै उनले दुई प्रोफेसरको नाम याद गरे– बेन्जामिन ग्राहम र डेभिड डोड। 

त्यसपछि वारेन बफेटले यी प्राध्यापकले लेखेको ‘सेक्युरिटी एनालिसिस’ किताब पढेका थिए। त्यसैले अगस्टको मध्यमा बफेटले ती प्रोफेसरलाई एउटापत्र लेखे। ‘प्रिय प्रोफेसर डोड। मैले सोचे कि तपाइँहरु जीवित हुनुहुन्न तर तपाइँहरु जीवित नै हुनुहुँदो रहेछ र कोलम्बियामा पढाइरहुनुभएको छ भन्ने मैले थाहा पाएँ। म पनि कोलम्बिया आउन चाहन्छु र तपाइँसँग अध्ययन गर्न चाहन्छु। यो पत्रपछि वारेन बफेट कोलम्बिया बोलाइयो। आज उनी विश्वकै सबैभन्दा ठूलो लगानीकर्ता छन्। प्रोफेसर ग्राहमले बफेटलाई लगानी गर्ने दुई नियम सिकाएका थिए। जुन बफेट सधैँ पालन गर्छन्।

फोर्ब्सका अनुसार वारेन बफेट हाल ११९.७ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको पाँचौँ धनी व्यक्ति छन्। उनले बर्कशायर ह्याथवे नामको आफ्नो कम्पनी चलाउँछन्। जसको आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासमा १०.४ अर्ब डलरको कीर्तिमानी नाफा भएको छ। –एजेन्सी