काठमाण्डौ । भारतको नयाँदिल्लीस्थित कापसहेडाको एउटै भवनमा बस्ने ४१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

आजतकका अनुसार यो भवनमा अप्रील १८ मा पहिलो कोरोना संक्रमणको केस भेटिएको थियो । त्यसको १४ दिनपछि शनिवार सो भवनमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेका हुन् । तथापि, यी व्यक्तिहरुको स्वाबको नमूना २० र २१ अप्रीलमा लिइएको थियो । 

पहिलो संक्रमित भेटिएसँगै यो भवनलाई पूरा शिल गरिएको छ । 

दिल्लीको यो क्षेत्रमा घना आवादी रहेको छ । यसका कारण यो क्षेत्रमा संक्रमण अझै फैलने खतरा रहेको समाचारमा जनाइएको छ ।

जाँचका लागि यो भवनबाट १७५ मानिसको नमूना संकलन गरिएको थियो । तीमध्ये ६७ मानिसको रिपोर्ट मात्र शनिवार आएको हो, जसमध्ये ४१ जनामा कोरोना संक्रमण भेटिएको हो । बाँकी १०८ व्यक्तिको रिपोर्ट अझै आउन बाँकी रहेको समाचारमा जनाइएको छ ।