काठमाण्डौ । आकर्षक बोनस सेयरको लोभ देखाउँदा समेत लिलामीबाट सेयर खरीदका लागि शिलबन्दी बोलपत्र नपरेपछि स्टेट बैंक अफ इण्डियाको ५५ प्रतिशत सेयर स्वामित्व रहेको नेपाल एसबीआई बैंकले हकप्रदबाट बिक्री नभएको सेयर लिलामीबाट खरीद गर्नेहरुका लागि आवेदन दिने समय एक दिन थपेको छ । 

यो बैंकले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको ४ लाख ६९ हजार ५२.६० कित्ता साधारण सेयर बोलकबोलबाट बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । इच्छुकले साउन १६ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने भन्दै यसअघि सूचना प्रकाशित गरिएता पनि धेरैले यसमा इच्छा नदेखाएपछि थप लगानीकर्ता आकर्षित गर्न साउन १७ सम्मलाई बोलपत्र पेश गर्ने  मिति लम्बाइएको बैंकस्थित उच्च स्रोतले जानकारी दिएको छ । पछिल्लो समय बोलपत्रबाट खरीद गर्दा समेत खासै फाइदा नहुने देखेपछि लगानीकर्ता यो प्रक्रियाप्रति आकर्षित हुन छाडेका ती अधिकारीले बताए । पछिल्लो समय एसबीआईको घट्दो मूल्यले समेत आवेदन भनेजति नआएको उनको भनाई छ । 

एसबीआईले २०७४ जेठ ७ गते १० बराबर ४ को अनुपातमा हकप्रदको बिक्री खुलाएको थियो । तर त्यसमध्ये ४ लाख ६९ हजार ५२.६० कित्ता बिक्री भएको थिएन । 

लिलामीका लागि गत साउन ९ गतेदेखि आवेदन खुल्ला गरिएको थियो । आवेदनको समय एकदिन थप भएसँगै बोलपत्र खोल्ने मिति समेत एकदिन पर सारी साउन १९ गते पुर्याइएको छ । 

लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ राख्नुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

एनएमबी क्यापिटल लिमीटेडले एसबीआईको बिक्री नभएको सेयर लिलामीको प्रबन्धकको काम गर्नेछ । 

काठमाण्डौको नक्सालस्थित एनएमबी क्यापिटलको मुख्य कार्यालयमा गएर इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्नसक्नेछन् ।

नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७३/७४ को तेश्रो त्रैमाससम्ममै १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको थियो । सबै हकप्रद बिक्रीपछि बैंकको चुक्तापूँजी ६ अर्ब ९७ करोडको उचाईमा पुुग्नेछ । यो बैंकले ८ अर्ब चुक्तापूँजी पुर्याउन १ अर्ब ३ करोड बराबरको बोनस सेयर जारी गर्ने बताइएको छ । यो कम्पनीको सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ९ सय २९ रुपैयाँ रहेको छ ।