काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्वको एकतिहाइ अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ।
आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले सन् २०२२ मा मुद्रास्फीतिको प्रकोपको सामना गरिसकेपछि २०२३ मा मन्दी आउन सक्ने र यो वर्ष गत वर्षभन्दा बढी कठिन परिस्थितिको सामना गर्न सक्ने बताएकी छन्। अमेरिका, युरोपेली युनियन र चीनको आर्थिक मन्दीको प्रभावले सन् २०२३ मा विश्वको एकतिहाइ अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने आशंका जर्जिएभाले व्यक्त गरेकी छन्।
जर्जिएभाले कोभिडका कारण आगामी केही महिना चीनका लागि कठिन साबित हुने र चीनको वृद्धिदरमा नकारात्मक असर पर्ने भएकाले विश्वको आर्थिक वृद्धिदर पनि घट्ने बताइन्। रुस–युक्रेन युद्ध, मुद्रास्फीति, ब्याजदरमा भएको बृद्धि र चीनमा कोभिड–१९ महामारीको नयाँ लहरका कारण विश्व अर्थतन्त्रमा बढ्दो दबाबका कारण यो चेतावनी आएको हो।
जर्जिएभाले अहिले मन्दीको प्रभाव नदेखिएका देशमा ठूलो जनसंख्याले पनि मन्दीजस्तो अवस्था महसुस गर्ने पनि बताइन्। ‘यस्तो अवस्थामा रोजगारी र तलब वृद्धिका हिसाबले यो वर्ष निराशाजनक सावित हुन सक्छ’, उनले भने, ‘विश्वमा हरेक तेस्रो व्यक्तिको रोजगारी संकटमा पर्न सक्छ।’
यसअघि सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर)को प्रतिवेदनमा गत वर्ष ब्याज वृद्धिको प्रभावका कारण सन् २०२३ मा विश्व मन्दीको चपेटामा पर्न सक्ने दाबी गरिएको थियो। वास्तवमा उच्च ब्याज दर धेरै अर्थतन्त्रमा संकुचनको कारण बन्न सक्छ।
सीईबीआरका अनुसार सन् २०२२ मा विश्वव्यापी अर्थतन्त्रले १०० ट्रिलियन डलरको अंक पार गरेको थियो तर ब्याजदर बढ्दै गएकाले २०२३ मा घट्ने अनुमान गरिएको छ। –एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19