काठमाण्डौ । यसअघि लिलाम बढाबढमा एकसय रुपैयाँमा मुश्किलले बिक्री भएको एभरेष्ट बैंकको सेयर पुनः लिलामीबाट बिक्री खुलेको छ । 

यो बैंकले ३५ हजार ८ सय ४१ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

यो बैंकले केही महिनाअघि हकप्रद निश्कासन गरेको थियो । त्यसमध्ये सेयरधनीले खरीद नगरेका २ लाख ५३ हजार ७ सय ९७ कित्ता सर्वसाधारण समूहतर्फको सेयर गत भदौ २५ देखि असोज १ गतेसम्म लिलामीमा राखिएको थियो । सो क्रममा समेत बिक्री नभएको ३५ हजार ८ सय ४१ कित्ता सेयरको लिलामी पुनः खुलाइएको हो । 

इच्छुक लगानीकर्ताले आगामी असोज २० देखि २७ सम्म तोकिएको स्थानमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । परेका बोलपत्रहरु असोज २८ गते बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलको मुख्य कार्यालय परिसरमा खोलिने छ । 

इच्छुकले एनआइबिएल क्यापिटल मार्केटको मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र दर्ता गर्न सक्नेछन् । यो लिलामी प्रक्रियामा सहभागिताका लागि प्रति कित्ता न्यूनतमा १ सय रुपैयाँको बोल लगाउनुपर्नेछ भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । 

यो बैंकको प्रति सेयर अन्तिम कारोबार मूल्य १२२८ रुपैयाँ रहेको छ । 

यसअघिको लिलामी प्रक्रियाको क्रममा प्रति कित्ता १ सय रुपैयाँ दर राख्नेहरुले समेत सेयर पाएका थिए । तर, यो बिषय निकै विवादित बनिरहेको छ । कतिपय विश्लेषक तथा जानकारहरुले एनआइबिएल क्यापिटल भित्रैबाट सूचना चुहावट भएका कारण उनीहरु निकटका कुनै लगानीकर्ताले १ सय रुपैयाँ मूल्य तोकेर बोलपत्र पेश गरी सेयर फुत्काएको बताउँदै आएका छन् । किनभने प्रतिकित्ता १२ सय माथि कारोबार भइरहेको सेयरको लिलामी प्रक्रियामा सहभागी हुने कुनै पनि लगानीकर्ता त्यति मूर्ख हुँदैन, जसले १ सय मात्र मूल्य राखेर बोलपत्र पेश गरी सेयर आफूलाई पर्छ भन्ने सोचेको होस् । यो बिषयमा छानबिन हुनुपर्ने कतिपय लगानीकर्ताले माग उठाए पनि नियामक धितोपत्र बोर्ड मौन रहँदै आएको छ ।