काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ मा राम्रो प्रगति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताका दिन फिरेका छन् । यो बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

भदौ ६ गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्रबैंक र बैंकको आगामी साधारणसभामा पेश गर्नुपर्छ । राष्ट्रबैंक र बैंकको साधारणसभाबाट स्वीकृत भएपछि घोषित बोनस सेयर र नगद लाभांश सेयरधनीले प्राप्त गर्नेछन् । 

आर्थिक वर्ष २०७१/७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

यो बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५९ करोड खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड पुगेको छ । घोषित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब ७ करोड पुग्नेछ ।