काठमाण्डौ । नेप्सेमा उछालको यात्रा जारी छ । लामो समय साइडवेजमा गएको बजारमा लगातार र दैनिकजसो उछाल आइरहँदा लगानीकर्ताहरुको सम्पत्ति पनि चमत्कारिक ढंगले बढिरहेको छ । 

मंगलबार नेप्से परिसूचक करिब ४६ अंकले बढेर २१०६.४८ को विन्दूमा पुगेको छ । यो दिन करिब ६ अर्बको कारोबार भएको छ । 

नेप्से परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढिरहेका छन् । यसले बजारमा दिगो खालको बढोत्तरी यात्रा सुरु भएको संकेत गर्छ । 

जसरी दैनिकजसो कारोबार रकममा पनि उछाल देखिइएको छ, उसैगरी लगानीकर्ताको सम्पत्ति पनि दैनिक ह्वात्तै बढिरहेको छ । 

सोमबारको तुलनामा हेर्ने हो भने मंगलबार एकैदिन लगानीकर्ताको कुल सम्पत्ति ८३ अर्बभन्दा बढीले वृद्धि भएको छ । 

नेप्सेको कुल बजार पूँजीकरण सोमबार ३१ खर्ब ७८ अर्ब १६ करोड रहेको थियो । जबकि मंगलबार त्यो बढेर ३२ खर्ब ६ अर्ब १६ करोडको उचाईमा पुग्यो । 

मौद्रिक नीतिको समीक्षापछि बुलिस यात्रामा रहेको बजारमा ८ दिन कारोबार भइसकेको छ । यो ८ दिनको अवधिको हिसाब गर्ने हो भने लगानीकर्ताहरुको सम्पत्ति करिब ४ खर्बले बढिसकेको छ । 

मौद्रिक नीतिको समीक्षाभन्दा अगाडिको बजारको कुल पूँजीकरण २८ खर्ब  ६२ अर्ब रहेको थियो । मंगलबार ३२ खर्ब ६१ अर्ब १६ करोडमाथि पुगेको छ । 

*एकैदिन ८३ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति हुनुपर्नेमा, अन्यथा भएकाले सच्याइएको  छ। -सं